नेप्से ७.३९ अंकले बढ्यो
२३ मंसिर काठमाडौं । लगातार ६ कारोबार दिन घटेको नेप्से साताको तेस्रो कारोबार दिन मंगलबार (मंसिर २३) मा बढेको छ । मंसिर १४ देखि घट्न थालेको सेयर बजार बढ्न सकेको थिएन । यस दिन बजार ७.३९ अंक बढेर २६१४.०७ बिन्दुमा बन्द भएको छ ।
कारोबारमा आएका ३३१ कम्पनीमध्ये १४८ कम्पनीको सेयर मूल्य बढेको छ । १०१ कम्पनीको सेयर मूल्य घट्दा नौवटाको स्थिर छ । आज तीन अर्ब ७५ करोड ५० लाख २७ हजार रुपैयाँबराबरको सेयर खरिद बिक्री भएको छ । अघिल्लो दिन चार अर्ब ६६ करोड ९५ लाखको कारोबार भयो ।
८७ लाख ४२ हजार कित्ता सेयर ६२ हजार ६५५ पटकमा खरिद बिक्री भएको छ । स्वस्तिक लघुवित्त तथा श्रीनगर एग्रिटेकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । माथिल्लो मैलुङ खोला, स्वेत गंगा हाइड्रो, सुपर मादी उच्च कमाउने शीर्ष कम्पनी रहे ।
हिमस्टार ऊर्जा, मिथिला लघुवित्त, कालिका लघुवित्त, लक्ष्मी सनराइज बैंक, पियोर इनर्जीका सेयरधनीले घाटा व्यहोरे । समुहगत सूचकतर्फ बैंकिङ, माइक्रोफाइनान्स, निर्जीवन बीमा र व्यापार समुहको सेयर मूल्य बढ्दा बाँकी समूह घटेका छन् ।