अर्थको आश्वासनपछि भन्सार एजेन्ट महासंघको ‘पेन डाउन’ फिर्ता


Capital Headline
प्रकाशित मिति : बुधबार, मंसिर २४ २०८२
1.2K
SHARES

२४ मंसिर काठमाडौं । अर्थ मन्त्रालयअन्तर्गतको भन्सार विभागमा विभिन्न मागसहित भन्सार एजेन्ट महासंघ नेपालले देशभरिका भन्सार कार्यालयमा जारी राखेको ‘पेन डाउन’लगायत विरोध कार्यक्रम फिर्ता लिएको छ । भन्सार विभाग र महासंघबीच छलफल भएपछि महासंघका माग सकारात्मक रूपमा सम्बोधन भएको बताइएको छ ।

भन्सार एजेन्ट महासंघ नेपालले मंसिर २३ गतेदेखि देशभरका भन्सार कार्यालयहरूमा पेन डाउन र अन्य विरोधका कार्यक्रम सुरु गरेको थियो । महासंघका अनुसार, भन्सार ऐन २०६४ मा समावेश गरिएका केही प्रावधानले भन्सार एजेन्टको पेसागत हकहित र काम गर्ने सहजतामा नकारात्मक असर पारेको थियो ।

साथै, अन्तर्राष्ट्रिय व्यापार सहजीकरण र सहयोगमा समेत नकारात्मक असर पुर्‍याउने वातावरण सिर्जना भएको महासंघको गुनासो थियो ।भन्सार विभागसँगको छलफलपछि माग सकारात्मक रूपमा सम्बोधन भएको र सोही कारण पेन डाउन कार्यक्रम फिर्ता भएको महासंघका अध्यक्ष प्राचीनकुमार वैद्यले जनाएका छन् ।

यसैबीच भन्सार विभागले पनि महासंघका माग सम्बोधन भएको जानकारी दिएको छ । भन्सार विभागका अनुसार भन्सार एजेन्ट महासंघको विभिन्न किसिमका मागहरू भन्सार विभागमा पेस गरिएका थिए ।

जसअनतर्गत व्यवस्थापन सुधार गर्ने, विभाग वा कार्यालयबाट सम्बोधन हुने र भन्सार ऐन तथा नियमावलीमा सम्बोधन गर्नुपर्ने प्रकृतिका उपयुक्त मागबारे विभागले अर्थलाई जानकारी दिएको थियो । उक्त मागका विषयमा अर्थले क्रमशःसम्बोधन गर्दै जाने निर्णय गरेको विभागद्धारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।