एमाले अभियानमा मेरो संलग्नता अटुट रूपमा रहन्छ – ईश्वर पोखरेल


Capital Headline
प्रकाशित मिति : बिहिबार, पौस ३ २०८२
2.1K
SHARES

३ पुस काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनमा अध्यक्ष पदमा पराजित ईश्वर पोखरेलले पार्टीको अभियानमा आफ्नो सहभागिता र संलग्नता अटुट रूपमा रहने बताएका छन् । बिहीबार दिउँसो मत परिणाम सार्वजनिकपछि सामाजिक सञ्जाल मार्फत उनले विभिन्न पदमा निर्वाचितलाई बधाई दिएका छन् ।“महाधिवेशनमा निर्वाचित अध्यक्षलगायत सम्पूर्ण पदाधिकारी तथा केन्द्रीय कमिटीका सदस्य तथा केन्द्रीय निकायमा निर्वाचित कमरेडहरूमा बधाई  तथा कार्यकालको सफलताको शुभकामना !,” उनले लखेका छन् ।

उनले सबै महाधिवेशन प्रतिनिधिप्रति धन्यवाद व्यक्त गरेका छन् । आफूलाई मत दिने प्रतिनिधिप्रति उनले आभार प्रकट गरेका छन् ।“प्रतिस्पर्धामा यसपटक म विजयी बन्न नसके पनि मेरो अध्यक्ष पदमा भएको उमेदवारीप्रति आफ्नो विश्वासको मत प्रदान गर्नुहुने मतदाता प्रतिनिधि कमरेडहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु,” उनले लेखेका छन् ।

उनले अगाडि लेखेका छन्, “महाधिवेशनको दौरानमा उठाएका मुद्दाहरू – जनताको बहुदलीय जनवादको प्रकाशमा पार्टीमा सामूहिक नेतृत्व, विधि र पद्धतिअनुसार पार्टी सञ्चालन, पार्टीलाई सही र लोकतान्त्रिक तरिकाले सञ्चालन गर्न ‘नियन्त्रण र सन्तुलन’को सिद्धान्तको पालन आदि महत्त्वपूर्ण विषयहरूले बहस र छलफलले नयाँस्तरमा निरन्तरता पाउने कुरामा विश्वास व्यक्त गर्दछु ।”

नयाँ नेतृत्वले आफ्नो कार्यकाल सफलताका साथ सम्पन्न गर्न सकोस् भन्ने उनले शुभकामना व्यक्त गरेका छन् ।“आफू विजयी बन्न नसके पनि देशभक्तिपूर्ण आन्दोलन, लोकतान्त्रिक आन्दोलन र समाजवादको आधार निर्माण गर्ने एमालेको अभियानमा मेरो सहभागिता र संलग्नता अटुट रूपमा रहिरहने कुरा विश्वास दिलाउन चाहन्छु,” उनले लखेका छन् ।

११औँ महाधिवेशनबाट अध्यक्ष पदमा केपी शर्मा ओली तेस्रो कार्यकालका निम्ति विजयी भएका छन् । ओलीले एक हजार ६६३ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी पोखरेलले ५६४ मत पाएका एमालेको निर्वाचन आयोगले जानकारी गराएको छ ।