पार्टी संरचनाको दुरुपयोग गरियो – ईश्वर पोखरेल समूह
५ पुस काठमाडैं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेल समूहले हालै सम्पन्न पार्टीको ११औँ महाधिवेशनमा आफूहरूले अघि सारेका मुद्दालाई निरन्तर उठाउने निर्णय गरेको छ । शनिबार (पुस ५) काठमाडौंमा बसेको उक्त पक्षको भेलाबाट पुनर्गठन, नेतृत्व हस्तान्तरण, जबजका आधारमा पार्टी निर्माण, आन्तरिक लोकतान्त्रिकरणलगायत मुद्दालाई विधिविधानभित्र बसेर निरन्तर उठाउने निर्णय गरिएको एमाले उपसहासचिव योगेश भट्टराईले जानकारी दिए ।
पार्टीका विभिन्न तहमा आफ्ना विचारलाई छलफलमा लैजाने उनले बताए । पार्टीको मत परिणामका कारण विचलित नहुन नेताहरूलाई आग्रह तथा एमालेलाई थप एकता र सुदृढ बनाउन भूमिका खेल्ने अठोट गरिएको उनले उल्लेख गरे ।
प्रतिनिधि छनोटदेखि बन्दसत्र सञ्चालनभित्रका क्रियाकलापले पार्टीको लोकतान्त्रिक अभ्यासमाथि गम्भीर प्रश्न उठाएको उनले बताए । पार्टी संरचनाको दुरुपयोग र लोकतान्त्रिक अभ्यासलाई अस्वस्थ बनाउने कार्य भएकामा चिन्ता व्यक्त गरिएको उनले सुनाए ।भट्टराईले पार्टीभित्र गुटबन्दी र काखापाखा गर्ने प्रस्ताव आए प्रतिवाद गर्ने निर्णय गरिएको जानकारी दिए । उनले पार्टीभित्र कुनै अराजनीतिक ‘बार्गेनिङ’ नगर्ने स्पष्ट पारे ।