शान्ति स्थापनाको बाटो निर्वाचन हो – प्रधानमन्त्री
१५ पुस काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र अमनचैन कायम राखी दिगो लोकतन्त्र स्थापना गर्ने एक मात्र माध्यम निर्वाचन रहेकाले यसमा सहयोग गर्न सबैलाई आग्रह गरेकी छन् ।
आज बिहान बालुवाटारमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईंसँगको भेटमा प्रधानमन्त्री कार्कीले यस्तो आग्रह गरेकी हुन् ।मुलुक निर्वाचनमा होमिइसकेको जानकारी दिँदै उनले अब जनताबाट आफ्ना मुद्दा अनुमोदन गराउनु नै लोकतान्त्रिक निकासको एक मात्र विकल्प रहेको बताइन् ।
‘धेरै अप्ठ्यारो अवस्थाबाट मुलुकलाई शान्ति सुव्यवस्थामा फर्काएका छौँ’, उनले भनिन्, ‘सबै खालका संशयहरुलाई चिर्दै मुलुक पूर्णरुपमा निर्वाचनको माहोलमा होमिएको छ। यस्तो बेलामा सबै पक्षबाट जिम्मेवार भूमिकाको अपेक्षा हामीले गरेका छौँ। यो देश मेरो पनि हो भन्ने सोच राखेर सबै पक्ष जिम्मेवार बनौं।’
प्रधानमन्त्री कार्कीले प्रसाईँलाई शान्ति कायम राख्न आग्रह गर्दै शान्तिको प्रतीक भगवान् गौतम बुद्धको चित्र उपहार पनि दिइन् ।