असाधारण परिस्थितिको सामना गर्न राष्ट्रिय एकता आवश्यक – प्रचण्ड
२९ पुस काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले देश असाधारण परिस्थितिबाट गुज्रिरहेको भन्दै परम्परागत राजनीतिक संस्कारले मात्रै मुलुकमा उत्पन्न चुनौतीको सामना गर्न नसकिने बताएका छन् ।मंगलबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडा आयोजित पार्टी केन्द्रिय सदस्यहरूको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नयाँ विचार, नयाँ कार्यक्रम र नयाँ पहलकदमीमार्फत मात्रै वर्तमान राजनीतिक संकटको सामना गर्न सकिने उनको भनाइ छ । सबै राजनीतिक दलहरूले विगतका कमजोरीबारे आत्मसमीक्षा गर्न आवश्यक रहेको उल्लेख उनले गरे ।
‘सबै राजनीतिक दलहरूले आत्मसमिक्षा गरेर विगतमा के कमजोरी भए भन्ने कुराको मूल्यांकन गर्न जरुरी छ । हामी त्यो निष्कर्षमा पुग्यौँ र हाम्रो भागमा परेको कमजोरीको समीक्षा पनि गर्यौं । हामी संकल्प लियौँ कि ती कमीहरू अब सच्याउनुपर्छ र रुपान्तरित हुनुपर्छ भन्ने निष्कर्ष निकाल्यौँ । यो असाधार परिस्थितिको सामना नयाँ विचार, नयाँ कार्यक्रम र नयाँ पहलकदमीद्वारा मात्रै लिन सकिन्छ,’ प्रचण्डले भने ।
नेकपाले विगतमा आफ्नो तर्फबाट भएका कमजोरीको समीक्षा गरी अब ती कमजोरी सच्याउँदै रुपान्तरणको मार्गमा अघि बढ्ने संकल्प लिइसकेको पनि दाबी गरे ।मुलुकले सामना गरिरहेको परिस्थितिमा राष्ट्रिय एकता सुदृढ गर्ने र राष्ट्रिय स्वाधिनतालाई मजबुत बनाउने उद्देश्यसहित पार्टी एकता प्रक्रियालाई अगाडि बढाइएको दोहोर्याए ।
‘परम्परागत ढंगले चल्ते चलाते ढंगले मात्रै मुलुकमा उत्पन्न परिस्थितिको सामना गर्न सकिँदैन । राष्ट्र जुन असाधारण अवस्थाबाट गुज्रेको छ यो समयमा राष्ट्रलाई थप एकतावद्ध गर्ने, एकता सुदृढ गर्ने र राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्नको लागि नितान्त नयाँ संकल्पसहित पहलकदमी लिन जरुरी छ भन्ने निष्कर्षका साथ हामीले पार्टीले पार्टी एकता प्रक्रियालाई लियौं,’ उनले भने ।