राजीनामा नलेख्ने सोचमा पुगे बालेन
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले मेयर पदबाट राजीनामा नदिने मनस्थितिमा पुगेका छन् ।६ गते मनोनयन दर्ता गराएपछि मेयर पद स्वतः निष्क्रिय हुने भएकाले राजीनामा लेखिराख्नु नपर्ने उनको सचिवालय स्रोतले बतायो ।प्रतिनिधिसभा निर्वाचनमा भाग लिन लागेका बालेनले आज राजीनामा दिने भनिएको थियो । उनले उपप्रमुख सुनिता डंगोललाई राजीनामा बुझाउने तयारी गरेका पनि थिए ।
तर, नेपाली कांग्रेसको विभाजनले उत्पन्न गरेको परिस्थितिमा निर्वाचन तालिका प्रभावित हुनसक्ने आशंकामा राजीनामा नगर्ने रणनीति बनाइएको बुझिएको छ । कांग्रेसको देउवा पक्षले निर्वाचन आयोगबाट आधिकारिक मान्यता गुमाएपछि सर्वोच्च अदालत गुहारेको छ । कांग्रेसले हालेको रिटमा सर्वोच्चले कुनै अन्तरिम आदेश दिनसक्ने भएकाले पनि बालेन राजीनामा दिइहाल्न हच्किएका हुन् ।
बालेन मेयरबाट राजीनामा नदिइ आज रास्वपा कार्यालय प्रवेश गरेका छन् । उनले आजै रास्वपाको केन्द्रीय समिति वैठकमा भाग लिने कार्यक्रम छ ।आजै ५ बजे उनी आफ्नो चुनावी अभियानमा जनकपुर जाँदैछन् । उपमेयरको सचिवालय स्रोतले राजीनामाबारे बालेनले कुनै जानकारी नगराएको बतायो ।