प्रचण्डको शरणमा बाबुराम , म पछि हट्दिनँ – नेता न्यौपाने
९ माघ काठमाडौं । आज बिहान पूर्वप्रधानमन्त्री एवम् गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार डा. बाबुराम भट्टराईले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार लेखनाथ न्यौपानेसँग तालमेलको प्रस्ताव गरेका छन् । न्यौपानेले भने आफू ‘धेरै अगाडि बढिसकेको’ भन्दै प्रस्ताव अस्वीकार गरेका छन् । प्रचण्ड रुकुम पूर्वबाट उम्मेदवार बने र सो क्षेत्र अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष लेखनाथ न्यौपानेलाई जिम्मा लगाए छन् ।
प्रगतिशील लोकतान्त्रिक पार्टीबाट बाबुराम र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार लेखनाथ अहिले सँगै प्रतिस्पर्धा गर्ने अवस्थामा पुगेका छन् । उनीहरुका अलावा गोरखा २ मा कांग्रेसका प्रकाशचन्द्र दवाडी, नेकपा एमालेका चक्रे मिलन र रास्वपाबाट कविन्द्र बुर्लाकोटी उम्मेदवार छन् । प्रचण्डलाई बिहान बाबुरामले भेटर आफूलाई सघाउन प्रचण्डलाई अनुरोध गरेको एक स्रोतले क्यापिटल हेडलाईन लाई बताएको छ ।‘लेखनाथको उम्मेदवारी फिर्ता गराएर मलाई सघाउनुपर्यो भन्ने बाबुरामजीको कुरा थियो,’ स्रोतले भन्यो ।
तर निर्वाचन क्षेत्रमा चुनाव प्रचारमै व्यस्त नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार लेखनाथले भने आफू पछि नहट्ने बताएका छन् । उनले भने – अब म पछि फर्किने कुरै हुँदैन ।‘अहिलेसम्म अवसर नपाएको उम्मेदवार भनेर साथीहरु मसँग केन्द्रित हुँदै जानु भएको छ, यो अवस्थामा ब्याक हुनु भनेको पार्टीलाई नै हानि हुने हो,’ न्यौपानेले भने, ‘त्यसैले म पछि हट्दिनँ ।’