मनाङको पहिलो जित
१३ माघ काठमाडौं । लगातार तीन हारपछि शीर्ष डिभिजन क्लब मनाङ मर्स्याङदी क्लबले राष्ट्रिय लिगमा पहिलो जित दर्ता गरेको छ । मनाङले सोमबार लिगअन्तर्गत सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा काँक्रेविहार क्लबविरुद्ध ५–१ को जित निकालेको हो । यसअघि, मनाङले विभागीय टिम त्रिभुवन आर्मी फुटबल क्लबविरुद्ध ५–०, मछिन्द्र फुटबल क्लबसँग १–२ र सातदोबाटो युथ क्लबविरुद्ध १–० को हार व्यहारेको थियो । सोमबार मनाङको जितमा गिडियोन नाह क्यिरेमेहले दुई गोल गरे । सुरेश कुमाल, अनिलकुमार पञ्चे मगर र नवराज गुरुङले समान एक गोल गरे । जवाफमा काक्रेविहार क्लबका सन्दीप देउवाले एक गोल फर्काए ।
खेलको १६औँ मिनेटमा मनाङलाई सुरेशले अग्रता दिलाए । तर, मनाङले यो अग्रता लामो समयसम्म जोगाउन सकेन । २०औँ मिनेटमा काक्रेविहारका सन्दीपले गोल गर्दै टोलीलाई खेलमा फर्काए । २५औँ मिनेटमा टोलीका अनिलकुमारको गोलमा मनाङले काक्रेविहारविरुद्ध २–१ को अग्रता बनायो । ५४औँ मिनेटमा क्यिरेमेहले गोल गर्दै अग्रतलाई ३–१ को स्थितिमा पुर्याए । ८०औँ मिनेटमा नवराजले अग्रतामा एक गोल थपे ।
८५औँ मिनेटमा क्यिरेमेहले व्यक्तिगत दोस्रो गोल गरेपछि मनाङले पहिलो जित दर्ता गरेको हो । पराजित काँक्रेविहारले भने लगातार चौथो हार व्यहोरेको हो । आजै भएको अर्काे खेलमा विभागीय टिम नेपाल पुलिस क्लबले श्री भगवती क्लब टोखाविरुद्ध १–० को कठिन जित निकालेको हो ।
सोमबार लिगअन्तर्गत सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा पुलिसले ३७औँ मिनेटमा आत्मघाती गोल उपहार पाएको थियो । यही अग्रतालाई अन्तिम समयसम्म जोगाउँदै टोलीले टिम निकालेको हो ।
जितसँगै पुलिसले प्रतियोगितामा चार अंक जोडेको छ । पुलिसले चार खेल खेल्दा समान एक जित र बराबरी र दुई हारसहित यो नतिजा आत्मसाथ गरेको हो । पराजित भगवतीको भने यो दोस्रो हार हो ।