संकटाविरुद्ध एनआरटीको सहज जित
१५ माघ काठमाडौं । शीर्ष डिभिजन लिग न्युरोड टिम (एनआरटी)ले राष्ट्रिय लिगमा संकटा क्लबविरुद्ध ३–१ को सहज जित निकालेको छ ।
बिहीबार (माघ १५) सातादोबाटोस्थित एन्फा मुख्यालयमा एनआरटीलाई जित दिलाउन क्रितिसरत्न छुँजु र टिमोथी ओकेरेकेले समान एक गोल गरे । एनआरटीले एक गोल भने आत्मघाती उपहार पाएको थियो । संकटाका कृष्ण बहादुरले एक गोल फर्काए ।
खेलेको १०औँ मिनेटमा क्रितिसले एनआरटीलाई अग्रता दिलाएका थिए । ५१औँ मिनेटमा एनआरटीले आत्मघाती गोल उपहार पायो ।
५५औँ मिनेटमा संकटाका कृष्णले गोल गर्दै टोलीलाई १–२ को स्थितिमा फर्काए । ६६औँ मिनेटमा ओकेरेकेले गोल थप्दै टोलीको जित निश्चित गरेका हुन् । जितसँगै एनआरटीले प्रतियोगितामा १३ अंक जोडेको छ । एनआरटीले पाँच खेल खेल्दा चार जित र एक हारसहित यो नतिजा आत्मसात् गरेको हो । पराजित संकटाको पाँच अंक छ ।