सरकारको खातामा तीन खर्ब ४६ अर्ब नगद मौज्दात


Capital Headline
प्रकाशित मिति : मंगलबार, माघ २० २०८२
2.1K
SHARES

२० माघ काठमाडौं । सरकारका विभिन्न खातामा तीन खर्ब ४६ अर्ब ३७ करोड नगद मौज्दात रहेको छ । यो चालु आवको पुस मसान्तसम्ममा नेपाल राष्ट्र बैंकमा रहेको सरकारको नगद हो । जसमा संघीयसँगै प्रदेश तथा स्थानीय सरकारको खातामा रहेको रकम समेत हो ।  चालु आवको ६ महिनाभर एक खर्ब ९६ अर्ब ५४ करोड रुपैयाँ नगद खातामा थपिएको छ । यसअघिको गत असार मसान्तमा यस्तो मौज्दात एक खर्ब ४९ अर्ब ८३ करोड रुपैयाँ मात्रै थियो ।

राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को ६ महिना (२०८२ पुससम्म) को तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तिय स्थितिले सरकारको नगद मौज्दातको स्थिति सार्वजनिक गरेको हो । चालु आवको पुस महिनासम्ममा नेपाल सरकारको कुल खर्च ६ खर्ब ९० अर्ब २२ करोड भएको छ । जस्मा चालु खर्च चार खर्ब ८७ अर्ब १४ करोड, पँुजीगत खर्च ४९ अर्ब ४३ करोड र वित्तीय व्यवस्था खर्च एक खर्ब ५३ अर्ब ६५ करोड रुपैयाँ छ ।

सरकारको आम्दानीमा कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) पाँच खर्ब ७७ अर्ब ४० करोड पुगेको छ । यसअन्तर्गत कर राजस्व पाँच खर्ब १६ अर्ब १२ करोड र गैरकर राजस्व ६१ अर्ब २८ करोड रुपैयाँ परिचालन भएको तथ्यांकमा उल्लेख छ ।

प्रदेश सरकारको खर्च तथा राजस्व स्थित 
चालु आवको ६ महिनामा प्रदेश सरकारहरूको कुल खर्च ३९ अर्ब ८७ करोड र स्रोत परिचालन ९१ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । प्रदेश सरकारहरूको कुल स्रोत परिचालनमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी ६९ अर्ब ३३ करोड र प्रदेश सरकारहरूले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व २१ अर्ब ८३ करोड रुपैयाँ रहेको छ ।