गैरखाद्यमा महँगीको भार अधिक
२० माघ काठमाडौं । सर्वसाधारणले प्रायः दैनिक उपभोग्य खाद्यान्नको महँगी बढेको महसुस गरिरहेका छन् । तर, यसपटक भने गैरखाद्य वस्तुमा अधिक मूल्यवृद्धि भएको तथ्यांक सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को ६ महिनाको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले समग्र खाद्य वस्तुको मद्रास्फिति घटेको देखाको छ । उक्त तथ्यांकअनुसार यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ०.०९ प्रतिशतले ऋणात्मक रहेको छ ।
समग्रमा खाद्यको मुद्रास्फिति ऋणात्मक देखिए पनि यसबीच खाद्य वस्तुअन्तर्गतका माछामासु, अण्डा, दूधजन्य उत्पादनहरू, तेल, घिउ, फलफूल, चिनी–चिनीजन्य उत्पादनहरू र जुसजस्ता गैर पेय पदार्थहरूको मूल्य भने बढेको केन्द्रीय बैंकको तथंकमा देखिन्छ । यस अवधिमा तरकारी, गेडागुडी, दाल र मसलाहरूको मूल्यवृद्धि गत वर्षको भन्दा घटेको केन्द्रीय बैंकले गरेको सर्भेबाट देखिएको छ ।
खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत फलफूल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ५.२० प्रतिशत, घ्यू तथा तेलको ४.९६ प्रतिशत र गैरमदिराजन्य पेय पदार्थको ३.०४ प्रतिशतले बढेको छ । दाल तथा गेडागुडी उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ५.५२ प्रतिशत, मरमसलाको ३.९२ प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको ३.७० प्रतिशतले घटेको छ ।
तर, पछिल्लो समय गैरखाद्यअन्तर्गतका लत्ताकपडा, स्वास्थ्य, शिक्षा, यातायात, घरभाडा, सञ्चार (इन्टरनेट), रेष्टुरेन्टलगायतको खर्च भने ह्वात्तै बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । यसअनुरुप गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक २१.७५ प्रतिशत, शिक्षाको ७.५६ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ५.२९ प्रतिशत, सुर्तीजन्य पदार्थको ४.१५ प्रतिशत र मदिराजन्य पेय पदार्थको ३.८५ प्रतिशतले बढेको छ । बीमा तथा वित्तीय सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ०.०३ प्रतिशतले घटेको छ ।
यस्ता गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.८१ प्रतिशत रहेको छ । जबकी गत वर्षको सोही अवधिमा खाद्य समूहहरूको मुद्रास्फीति ७.६७ प्रतिशत र गैरखाद्य समूहको मुद्रास्फीति ४.१९ प्रतिशत रहेको थियो । तर, समग्रमा चालु आवको पुस महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.४२ प्रतिशत छ । गत वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.४१ प्रतिशत रहेको थियो । यसअनुसार पुस महिनाको औसत मुदास्फीति १.७० प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिको औसत मुद्रास्फीति ४.९७ प्रतिशत रहेको थियो ।