भ्रष्टाचारमुक्त नेपाल निर्माणमा कठोर र निर्मम कदम चाल्नुको विकल्प छैन – प्रधानमन्त्री


Capital Headline
प्रकाशित मिति : बुधबार, माघ २८ २०८२
1.5K
SHARES

२८ माघ काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचारमुक्त नेपाल निर्माणमा कठोर र निर्मम कदम चाल्नुपर्ने बताएकी छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै भ्रष्टाचार नियन्त्रणका लागि पर्याप्त संरचना, कानुनी र नीतिगत व्यवस्था भएपनि अपेक्षाकृत नियन्त्रण हुन नसकेको बताइन्। उनले भनिन्, ‘किन भ्रष्टाचार निवारणकै माग राखी जेनजी युवाले गत भदौ २३ र २४ गते सडकमा आन्दोलन गर्नुपर्‍योरु यी प्रश्नमा विचार गर्दा, हामी सबैले बुझ्नुपर्ने र मनन पनि गर्नुपर्ने कुरा के छ भने भ्रष्टाचार नियन्त्रणको प्राथमिक जिम्मेवारी सरकारको नै हो, कार्यकारी अङ्गको नै हो। त्यसमा पनि प्रत्येक निकाय र कार्यालयका प्रमुखले नै आफ्नो संस्था र संरचनाभित्रको भ्रष्टाचार नियन्त्रणको जिम्मा लिनुपर्छ।’

जबसम्म भ्रष्टाचार नियन्त्रणका लागि कार्यकारी अंगभन्दा बेग्लै संरचनातिर मुख ताकेर बस्दासमेत चाहेको सुधार गर्न नसक्ने बताइन्।उनले भनिन, ‘मैले यसअघि पनि भनेकी छु– प्रत्येक कार्यालयमा हुने भ्रष्टाचार र घुसखोरीका लागि उक्त कार्यालयको प्रमुख नै जिम्मेवार हो। यो मान्यता, चेतना र जिम्मेवारीको बोध प्रत्येक राष्ट्र सेवक कर्मचारी, राजनीतिक नेतृत्व र अन्य सरोकारवालामा पनि हुनु जरुरी छ ।’

मुलुकमा सुशासन प्रवर्धन र भ्रष्टाचार नियन्त्रणको मूलभूत माग राखी जेनजी युवाको अगुवाइमा भएको आन्दोलनको जगमा गठित वर्तमान सरकारले नागरिकमैत्री प्रशासनको अनुभूति गराउने, भ्रष्टाचार नियन्त्रणलगायत समग्र शासकीय सुधारका कार्यलाई प्राथमिकतासाथ अघि बढाइरहेको बताइन्।

वर्तमान सरकारले सार्वजनिक खर्चमा मितव्ययिता अपनाएको जानकारी गराइन्। राज्यकोषमा भार पार्ने गरी हुने अनावश्यक भर्तीहरू रोकेको समेत बताइन्।उनले थपिन्, ‘अवाञ्छित सुविधाहरू लिने र राज्यको स्रोतसाधन दुरुपयोग गर्ने प्रवृत्तिविरुद्ध हामी निर्मम ढङ्गले प्रस्तुत भएका छौँ। नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने नागरिकता, राहदानी, सवारी चालक अनुमति पत्र लगायत सार्वजनिक सेवा सरल, शीघ्र, सुलभ ढङ्गले प्रदान गर्न सरकार निकै नै संवेदनशील भई लागिपरेको छ।’

आगामी निर्वाचनपछि आउने सरकारलाई मार्गदर्शन हुने गरी सुशासनको मार्गचित्र तयारीको कार्य पनि अन्तिम चरणमा पुगेको जानकारी गराइन्। भ्रष्टाचारविरुद्धका कारबाहीहरूलाई तीव्र पार्न राज्यका भएकै संरचनाहरूलाई पूर्ण व्यावसायिक स्वतन्त्रताका साथ सक्रिय हुन प्रेरित गरेको बताइन्।

उनले भनिन्, ‘केही दूरगामी परिणाम देखिने गरी हामीले जग बसालेका छौँ। यद्यपि, जेनजी युवा मात्र होइन, आम नेपाली नागरिकले चाहेको सुशासन र भ्रष्टाचारमुक्त नेपाल निर्माणका लागि यी प्रयासहरू मात्र पर्याप्त छैनन्। अझै कठोर र निर्मम ढङ्गले कदम चाल्नुपर्ने आवश्यकता छ। हामीले जेनजी आन्दोलनपछि थप द्वन्द्व चर्किन नदिन र शान्ति सुव्यवस्था कायम गरी निर्वाचनको वातावरण बनाउनमा धेरै ध्यान केन्द्रित गर्‍यौँ।’

निर्वाचनपछि नयाँ जनादेशसहित आउने सरकारले जेनजीको भावनाअनुसार थप कदम उठाउनेछ भन्ने विश्वास व्यक्त गरिन्।‘यस मञ्चबाट सबैलाई म के आग्रह गर्न चाहन्छु भने आउँदो फागुन २१ को निर्वाचनलाई पनि मुलुकमा सदाचार स्थापनाको एउटा महाअभियानका रूपमा लिऊँ। स्वच्छ छवि र भ्रष्टाचारविरुद्धको स्पष्ट प्रतिबद्धता भएका जनप्रतिनिधिहरूको थलो प्रतिनिधि सभालाई बनाऊँ’ प्रधानमन्त्रीले भनिन्।