मैले बुझाएको सम्पत्ति विवरण प्रकाशन भएन – अर्थमन्त्री खनाल


Capital Headline
प्रकाशित मिति : शुक्रबार, फाल्गुन १ २०८२
1.7K
SHARES

१ फागुन काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले आफूले सम्पत्ति विवरण बुझाए पनि प्रकाशन नगरिएको बताएका छन् । शुक्रबार (फागुन १) काठमाडौंमा नेपाल पत्रकार महासंघ र सूचना आयोगले संयुक्त रूपमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले सही सूचनाले अर्थतन्त्र सुधारमा पनि सकारात्मक भूमिका खेल्ने बताए । उनले सार्वजनिक जवाफदेहितामा सचेत हुँदै आफूले सम्पत्ति विवरण बुझाए पनि प्रकाशन नगरिएको जानकारी दिए ।

“सम्पत्ति विवरण लिने तर सार्वजनिक नगर्ने गरी यसअघिको सरकारले नियमावली बनाएको रहेछ । अहिलेको सरकारले त्यसलाई संशोधन गरेको अवस्था छैन । किन गरेन त्यतातिर नजाऊँ,” अर्थमन्त्री खनालले भने, “मैले समयमै बुझाएको छु । सार्वजनिक गरिदिए हुन्थ्यो, तर गरिएको छैन ।”  ‘मिडियामा सूचनाको हकको प्रयोग : अभ्यास र चुनौती’ विषयक अन्तरक्रियामा उनले अर्थतन्त्र उचित ढंगले चल्न पनि सही सूचनाको आवश्यकता पर्ने बताए ।

“सार्वजनिक निकायमा मात्रै नभएर व्यावसायिक घरानाभित्र पनि सूचनाको हक लागु हुन्छ भन्नेतर्फ यहाँहरूको ध्यान जानु आवश्यक छ,” उनले भने, “अन्तरपुस्ता समन्वय हुने गरी अवसर वितरण भयो कि भएन भनेर पनि सार्वजनिक हुनुपर्छ । त्यो निजी व्यवसायीको घरनाहरूमा पनि लागु हुनुपर्छ ।”

यस्ता सूचना नागरिकका निम्ति मात्र नभएर समन्यायिक अवसर वितरणका लागि पनि आवश्यक हुने उनले तर्क गरे । उनले ‘अप्राकृतिक’ गठबन्धनबाट हुने अनियमितता रोक्न नसके ‘जेनजी’ क्रान्ति भएझैँ भोलिका दिनमा ‘अल्फा’, ‘बेटा’ पुस्ताको विद्रोह पनि नरोकिने बताए । “अप्राकृतिक गठबन्धनबाट हुने अनियमिता रोक्न सकेनौँ भने अल्फा, बेटा क्रान्ति सहनुपर्ने हुन्छ,” उनले भने ।

अर्थ मन्त्रालयसँग पत्रकारले सूचना कम मागेको उनले उल्लेख गरे । स्वार्थ समूहले सूचनाको हकको प्रयोग/दुरुपयोग गरेको उनले बताए ।
“कतिपय विषय निर्णय हुने क्रममै हुन्छन्, एउटा वकिल तहको व्यक्तिले खरिदार, सुब्बालाई र्‍याखर्‍याख्ती पारेर सूचना सूचना लैजान्छ,” उनले भने, “निर्णय हुँदा नहुँदै मुद्दा पुग्ने प्रवृत्ति पनि देखिएको छ ।”