हामीले उठाएका एजेन्डा अहिले सबैका बने – नेपाली कम्युनिस्ट पार्टी
५ फागुन काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले मुलुकमा दुई अतिवाद रहेको जनाएको छ । मंगलबार नेकपाले केन्द्रीय कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा निर्वाचन प्रचार समिति संयोजक अग्निप्रसाद सापकोटाले जनताको आवाज दबाउन आन्दोलनमा चरम दमन गर्ने र राष्ट्रिय सम्पदाहरूमाथि आक्रमण गर्ने अतिवाद हाबी भएको बताए । “यी दुवै अतिवाद हाम्रो लोकतन्त्र, राष्ट्रिय स्वाधीनता, राजनीतिक स्थिरता र समृद्धिका लागि गम्भीर रूपमा हानिकारक छन्,” नेकपाको विज्ञप्तिमा भनिएको छ ।
मुलुक संवेदनशील परिस्थितिका बीच निर्वाचन प्रक्रियाबाट गुज्रिरहेको भन्दै नेकपाले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई सामान्य बनाउन इमानदार प्रयास गरिरहेको जनाएको छ । सरकारले निर्वाचन घोषणा गरेपछि नेकपाले नै निर्वाचन हुनुपर्ने अडान राखेको सापकोटाले बताए । “सबै पक्षको सामूहिक प्रयासबाट आज देश निर्वाचनको निर्णायक चरणमा पुगेको छ । संविधान जारी भएपछि शासकीय सुधार, निर्वाचन प्रणाली, उन्नत संघीय लोकतान्त्रिक गणतन्त्र, सुशासन, सामाजिक न्याय, आत्मनिर्भर अर्थतन्त्र, उत्पादन र रोजगारी सिर्जना जस्ता हामीले निरन्तर उठाउँदै आएका एजेन्डाहरू आज सबैका साझा एजेन्डा बनेका छन्,” नेकपाले विज्ञप्तिमा भनेको छ ।
निर्वाचन विथोल्न चाहने शक्तिहरू सक्रिय रहेको भन्दै स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने सापकोटाले बताए । निर्वाचनका सन्दर्भमा प्रतिबद्धता र कार्ययोजना सार्वजनिक गरिसकेको भन्दै नेकपाले त्यसको गम्भीरतापूर्वक अध्ययन गर्न, सबै राजनीतिक दलहरूको मूल्यांकन गर्न, विवेकपूर्ण निर्णय गर्न र उपलब्धिहरूको रक्षा गर्दै परिवर्तन, स्थायित्व तथा समृद्धिको पक्षमा उभिन आग्रह गरेको छ ।