हामी सरकारमा भएको भए जेनजी आन्दोलन हुने थिएन – नेता श्रेष्ठ
८ फागुन काठमाडौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले कांग्रेस र एमालेको कुशासनले मुलुकमा जेनजी आन्दोलन भएको दाबी गरेका छन्। नेकपा सर्लाही-काठमाडौँ सम्पर्क समितिले बिहीबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले सुशासनको पक्षमा काम गरिरहेको तत्कालीन माओवादी नेतृत्वको सरकारलाई कांग्रेस र एमालेले ढालेकाले मुलुकमा जेनजी आन्दोलन भएको दाबी गरेका हुन्।
नेता श्रेष्ठ सर्लाही-३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन्। सम्पर्क समितिले श्रेष्ठसहित नेकपाका तीनजना उम्मेदवारलाई एकै ठाउँमा राखेर काठमाडौँमा कार्यक्रम गरेको हो पूर्वगृहमन्त्रीसमेत रहेका श्रेष्ठले आफू गृहमन्त्री हुँदा सुशासनको पक्षमा धेरै काम गरेको दाबी गरे।
‘त्यतिबेला हामीले सुशासन र सामाजिक न्यायका पक्षमा ऐतिहासिक काम गरेका थियौँ,’ उनले भने, ‘हाम्रो सरकारले गरेका कामबाट विभिन्न काण्डमा जोडिएकाहरु डराएपछि हाम्रो सरकार ढालियो। हाम्रो सरकार ढालेपछि नै जेनजी आन्दोलन हुने अवस्था सिर्जना भएको हो।’
उनले आफ्नो पार्टीले उतिबेला भ्रष्टाचार विरोधी अभियान चलाइ राख्न पाएको भए, सुशासनको अभियान चलाइराख्न पाएको भए जेनजी आन्दोलन नै नहुने ठोकुवा गरे।
‘जेनजी आन्दोलन भ्रष्टाचारीहरुको कारणले भएको हो,’ उनले भने, ‘जेनजीले जे विषय उठाएका थिए, हामी सरकारमा बसेर तिनै काम गरिरहेका थियौँ, जेनजी आन्दोलनले हाम्रै एजेण्डा बोकेको थियो। तत्कालीन सरकारले ७६ जनाको हत्या गरेकाले मुलुक अप्ठ्यारो अवस्थामा प्रवेश गर्यो।’आफूहरुले जनतामा कहिल्यै झुट कुरा नगरेको दाबी पनि उनले गरे।