१३ खर्बको वैदेशिक व्यापार गर्दा नेपालले व्यहोर्‍यो ९ खर्ब ५५ अर्ब घाटा


Capital Headline
प्रकाशित मिति : शुक्रबार, फाल्गुन ८ २०८२
1.4K
SHARES

८ फागुन काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को सात महिनामा १२ खर्ब भन्दा बढीको वैदेशिक व्यापार भएको छ ।चालू आवको साउनदेखि माघसम्म ११ खर्ब ९१ अर्ब ६३ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको हो । यो व्यापार गत आवको सोही अवधिको १५.७६ प्रतिशत बढी हो । अघिल्लो आवको सोही अवधिमा ११ खर्ब १५ अर्ब ७९ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो ।

यस अवधिको वैदेशिक व्यापारमा नेपालले ९ खर्ब ५५ अर्ब ३४ करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । गत आवको सोही अवधिमा यस्तो घाटा ८ खर्ब ६१ अर्ब ३८ करोड रुपैयाँ बराबरको थियो ।

भन्सार विभागका अनुसार चालू आवको सात महिनामा ११ खर्ब २३ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १३.६५ प्रतिशत बढी हो । सो अवधिमा ९ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । त्यस्तै, यस अवधिमा एक खर्ब ६८ अर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालबाट निर्यात भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ३२.१९ प्रतिशत बढी हो । त्यसबेला एक खर्ब २७ अर्ब २० करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात गरिएको थियो ।