सांसद खोज्दै आउनु पर्दैन, म आफैँ आउँछु – सभापति थापा
९ फागुन काठमाडौ । नेपाली कांग्रेसका सभापति तथा सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार गगनकुमार थापाले सर्लाहीका मतदाताले अब सांसद खोज्दै धाउनु नपर्ने वाचा गरेका छन् ।
सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने भगवतीपुर र सिमरामा घरदैलोका क्रममा मतदाताले उम्मेदवार निर्वाचनमा मत माग्न आउने र कहिल्यै फर्केर नआउने गुनासो गरेपछि थापाले आफ्नो निर्वाचन क्षेत्रमा मतदाताका लागि छुट्टै सम्पर्क कार्यालय राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले नेपालको नेतृत्व गर्न पहाड र काठमाडौं थाहा पाएर मात्र नहुने भन्दै आफू मधेश बुझ्न र मधेश जान्न सर्लाही आएको पनि बताए । ‘नेपालको नेतृत्व गर्न पहाड र काठमाडौं थाहा पाएर मात्र हुँदैन । मधेश पनि बुझ्नुपर्छ । म अहिले नेपालको नेतृत्व गर्न, मधेश बुझ्न र मधेशको हुन मधेश आएको हुँ’, थापाले मतदाताको प्रश्नको जवाफ दिँदै भने ।
‘चुनावको बेला घर–घर देखिने अरुबेला नदेखिने सांसददेखि तपाईंहरू थाक्नु भएको छ । तपाईं अब सांसद खोज्दै आउनु पर्दैन, म आफैँ आउँछु, सर्लाही अब मेरो निर्वाचन क्षेत्र हो, यहाँ मेरो सम्पर्क कार्यालय रहन्छ, मेरो टिम रहन्छ, कुनै पनि अप्ठ्यारो पर्दा कुनै युवकले आफ्नो बालाई फोन गर्नुभन्दा ए गगन दाइ भन्ने बनाउन म सर्लाही आएको हो’, उनले अघि थपे ।