सात महिनामै बाहिरियो ५७ अर्ब ८८ करोड रुपैयाँ
११ फागुन काठमाडौँ । कृषि प्रधान देश नेपालमा ठुलो परिमाणमा बाहिरी मुलुकबाट कृषिजन्य वस्तु धानचामल कनिकादेखि तरकारीजन्य वस्तु आयातमा ठुलो रकम बाहिरिने गरेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको आयातको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्म (७ महिना) मा खाद्यान्न र तरकारी आयातमा ५७ अर्ब ८८ करोड रुपैयाँ बराबरको बाहिरिएको छ ।
यसमध्ये ३५ अर्ब ६२ करोड ९० लाख १८ हजार रुपैयाँ बराबरको खाद्यान्न र २२ अर्ब २५ करोड ७८ लाख ३५ हजार रुपैयाँ बराबरको दाल तथा तरकारीजन्य वस्तु आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । अधिकांश खाद्यान्न तथा तरकारी छिमेकी मुलुक भारत र चीनबाट आयात भएको छ ।
यो आयातको प्रत्यक्ष असर नेपालको व्यापार घाटा र विदेशी मुद्रा सञ्चितिमा परिरहेको छ । हरेक वर्ष अर्बौँको कृषि वस्तु खरिदमा खर्च हुँदा देशको अर्थतन्त्र कमजोर बन्दै गएको छ ।