अहिलेको निर्वाचन सामान्य होइन – प्रचण्ड
१६ फागुन काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले यो निर्वाचन राष्ट्रको स्वाधिनता रक्षाका लागि हुन लागेको बताएका छन् ।कपिलवस्तुको कृष्णनगरमा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले भदौ २६ गते राति राष्ट्रपति निवासमा रातभरि बसेर अन्तरिम सरकार बनाउन र ६ महिनाभित्र निर्वाचन गर्ने समझदारी बनाउन सहयोग गरेको बताए ।
“बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ । यो हाम्रो लागि विशेष खुसी र गर्वको कुरा हो । सुरुमा त हामी निर्वाचनबाहेक अरू कुनै विकल्प छैन, जनताको अभिमत लिने कुराबाहेक अर्को कुनै लोकतान्त्रिक विधि छैन भनेर हामीले भनिरहेका थियौँ,” प्रचण्डले भने, “तर, अहिले सबै राजनीतिक दल, नागरिक समाज र सिंगै जनसमुदाय पनि अब निर्वाचनको निम्ति तम्तयार भएको छ ।”
कपिलवस्तुले कृषि, उद्योग, व्यवसाय वा विभिन्न क्षेत्रमा आफ्नो पहिचान बनाउँदै आएको उनको भनाइ छ । यो निर्वाचन सामान्य कुनै एउटालाई विजयी गराउने र अर्कोलाई पराजय गराउने खालको नरहेको उनले बताए । “राष्ट्रिय स्वाधिनताको रक्षा गर्ने, राष्ट्रिय एकताको र नेपाली जनताको आत्मनिर्णय अधिकारको रक्षा गर्ने एउटा ठूलो जनमत संग्रह जस्तो गरेर तपाईं हाम्रो सामु आएको छ,” प्रचण्डले भने ।