अर्थमन्त्री र निजी क्षेत्रको छलफल
२८ फागुन काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले नीतिगत जटिलताका कारण सम्पादन हुन बाँकी रहेका काम आउने अर्थमन्त्रीलाई हस्तान्तरण गर्ने बताएका छन् । निजी क्षेत्रका प्रमुख संस्थाहरूका प्रतिनिधिबीच बिहीबार अर्थ मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री खनालले यस्तो बताएका हुन् । छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र नेपाल उद्योग व्यापार महासंघका अध्यक्ष खेमराज भण्डारीको उपस्थिति थियो ।
गत भदौ २३–२४ को आन्दोलनका कारण बिग्रिएको व्यावसायिक वातावरण र खस्किएको निजी क्षेत्रको मनोबल सबैको साझा प्रयासबाट सुधार आएको निजी क्षेत्रका प्रतिनिधिले बताएका छन् । अर्थमन्त्री खनालले आफ्नो कार्यकालमा निजी क्षेत्रले पुर्याएको सहयोग र पृष्ठपोषणका लागि आभार व्यक्त गरे । उनले समष्टिगत आर्थिक स्थायित्व कायम गर्न, लगानीका लागि उपयुक्त वातावरण निर्माण गर्न र पुँजीबजारलाई पारदर्शी बनाउन केही महत्त्वपूर्ण सुझाव सम्बोधन गरिएको बताए । “नीतिगत जटिलताका कारण सम्पादन हुन बाँकी रहेका कार्यहरू आउने अर्थमन्त्रीलाई हस्तान्तरण गर्ने छौँ,” उनले भने ।
निजी क्षेत्रका प्रतिनिधिहरूले अर्थमन्त्रीले व्यवसायीका मुद्दाहरूमा देखाएको चासोको प्रशंसा गरे । हालै, सम्पन्न निर्वाचनले मुलुकमा राजनीतिक स्थायित्व ल्याउने र यसबाट मुलुकको समग्र विकास र समृद्धि हुनेमा निजी क्षेत्र आशावादी देखिएको छ । छलफलका क्रममा निजी क्षेत्रले अझै सम्बोधन हुन बाँकी रहेका केही प्रमुख नीतिगत मागहरूमा अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छन् । व्यवसायीले उठाएका विषयमा मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ बहुदर प्रणाली लागु गरिनुपर्नेलगायत छन् ।
कच्चा पदार्थ र तयारी वस्तुको आयातमा लाग्ने करको दरमा कम्तीमा दुई तहको अन्तर हुनुपर्ने, सरकारले तौलरहित तथा सीमारहित उत्पादन तथा निर्यात प्रवर्द्धनमा विशेष जोड दिनुपर्ने, नियमनकारी निकायको प्रभावकारिता परीक्षण गरिनुपर्ने र अन्तःशुल्कका उच्च दरहरू घटाइनुपर्ने निजी क्षेत्रका माग हुन् ।