राजश्व अनुसन्धानसहित यी १५ ऐन खारेज हुने
१६ चैत काठमाडौं । सरकारले असान्दर्भिक ऐन खारेजका लागि अध्ययन कार्यदल गठन गरेको छ । अर्थ मन्त्रालयले असान्दर्भिक १५ ऐन परिमार्जन वा खारेजीका लागि अध्ययन कार्यदल गठन गरेको हो ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले पदवहाली गर्दै असान्दर्भिक ऐन खारेजी प्रक्रिया अघि बढाउने निर्णय गरेका थिए । निर्णय कार्यान्वयनमा लैजानका निम्ति मन्त्रालयले कार्यदल गठन गरेको हो । राजश्व व्यवस्थापन महाशाखाका प्रमुख उत्तरकुमार खत्रीको नेतृत्वमा कार्यदल गठन भएको छ ।
यी हुन् खारेज वा परिमार्जन हुने १५ ऐन
पूर्वअर्थमन्त्री खनाल नेतृत्वको आयोगले नेपालीलाई विदेशमा लगानी खुला गर्न प्रतिबन्ध सम्बन्धी २०२१ को ऐन खारेज गर्न सुझाएको थियो । यस्तै, आर्थिक ऐनको सट्टा एकीकृत कानुन संहिता निर्माण गरी सदनबाट पारित गर्नु आवश्यक रहेको औँल्याएको छ । यस्तै, आर्थिक ऐन खारेज गर्दै एकीकृत संहिता जारी गर्नुपर्ने आवश्यकता पनि औँल्याइएको थियो ।
भारतझैँ नेपालमा पनि एकीकृत आर्थिक संहिता बनेमा एक अर्कासँग बाझिएका कानुन परिमार्जन गर्न सकिने प्रतिवेदनले सुझाएको हो । “सरल भाषामा बन्ने कानुन सबैलाई बुझ्न र सोही अनुसार कार्यान्वयन गर्न सकिनेछ । यसले बजेटमा अपनाइने स्वेच्छाचारिता घटाइ नीतिगत स्थिरता कायम हुनेछ । विभिन्न कानुनहरूले दिएको सुविधाको ग्यारेन्टी हुने हुँदा लगानी प्रोत्साहित हुनेछ,” प्रतिवेदनको सुझाव थियो ।
खनाल नेतृत्वको प्रतिवेदनले सुझाए अनुसार निम्त ऐन परिमार्जन र खारेजीको प्रक्रिया अघि बढ्ने भएको हो ।
- आय टिकट दस्तुर ऐन, २०१९
- कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२
- निजी बन जंगल राष्ट्रियकरण ऐन २०१३
- प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०१३
- क्षतिपूर्ति ऐन, २०१९
- विर्ता उन्मूलन ऐन, २०१६
- बिर्तावालाले बिर्तामा रकम ( भट्टी चर्सा आदि) लगाई लिन खान नपाउने ऐन, २०१५
- राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन,२०५२
- विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१
- नेपाल एजेन्सी ऐन, २०१४
- प्रादेशिक विकास योजनाहरू (कार्यान्वित गर्ने) ऐन, २०१३
- निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३
- सामाजिक व्यवहार सुधार ऐन, २०३३
- नेपाली मुद्राको चलन चल्ती बढाउने ऐन, २०१४
- वित्तीय मध्यस्थताको काम गर्ने संस्था सम्बन्धी ऐन, २०५५