धितोपत्र बजार पुँजीकरण ४७ खर्ब ४४ अर्बमाथि पुग्यो
२० चैत काठमाडौं । धितोपत्र बजार पुँजीकरण ४७ खर्ब ४४ अर्बभन्दामाथि पुगेको छ । नेपालको धितोपत्र बजारको कुल पुँजीकरण २०८२ फागुन मसान्तसम्म ४७ खर्ब ४४ अर्ब ७३ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा बजार पुँजीकरण ४५४३ अर्ब ८१ करोड रुपैयाँ रहेको थियो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा नेप्से परिसूचक पनि बढेको छ । २०८१ फागुन मसान्तमा २७३६.४९ अंकमा रहेको नेप्से सूचकांक २०८२ फागुन मसान्तमा बढेर २८२०.४५ पुगेको छ । यद्यपि, बजार पुँजीकरणको आकार बढे पनि कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को अनुपात भने केही घटेको छ । २०८१ फागुनमा बजार पुँजीकरण जीडीपीको ७९.५९ प्रतिशत रहेकोमा २०८२ फागुनमा ७७.६९ प्रतिशतमा झरेको छ ।
यस अवधिमा नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरूको संख्या पनि बढेको छ । २०८२ फागुन मसान्तसम्म सूचीकृत कम्पनी २८६ पुगेका छन्, जबकि २०८१ फागुनमा यस्तो संख्या २६८ थियो । सूचीकृत कम्पनीमध्ये १३३ बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी, ९७ जलविद्युत् कम्पनी, २७ उत्पादन तथा प्रशोधन उद्योग, आठ होटेल, सात लगानी कम्पनी, चार व्यापारिक संस्था तथा १० अन्य समूहका कम्पनी रहेका छन् ।
बजार पुँजीकरणको हिस्सामा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूको प्रभुत्व देखिएको छ । यी संस्थाहरूको हिस्सा ५२.२ प्रतिशत रहेको छ । त्यसपछि जलविद्युत् कम्पनीको १५.९ प्रतिशत, लगानी कम्पनीको ७.४ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको ७.२ प्रतिशत, व्यापारिक संस्थाको ४.४ प्रतिशत, होटेल क्षेत्रको ३.१ प्रतिशत र अन्य समूहको ९.८ प्रतिशत हिस्सा रहेको छ । नेप्सेमा सूचीकृत कुल ९ अर्ब २६ करोड कित्ता सेयरको चुक्ता मूल्य ९११ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ ।
चालु आर्थिक वर्ष २०८२/८३ को आठ महिनामा धितोपत्र बजारमा थप ७० अर्ब ४६ करोडबराबरका धितोपत्र सूचीकृत भएका छन् । यसमध्ये ३६ अर्ब २८ करोडबराबरको साधारण सेयर, १२ अर्ब ५९ करोडबराबरको बोनस सेयर, ९ अर्ब ६४ करोडबराबरको हकप्रद सेयर, सात अर्ब ५० करोडबराबरको म्युचुअल फन्ड, तीन अर्ब ४० करोडबराबरको डिबेन्चर, ९२ करोड ५० लाखबराबरको एफपीओ तथा दुई करोड २९ लाखबराबरका अन्य धितोपत्र रहेका छन् । यसै अवधिमा नेपाल धितोपत्र बोर्डले पनि विभिन्न धितोपत्र सार्वजनिक निष्कासनका लागि ३७ अर्ब एक करोडबराबरको अनुमति दिएको छ । बोर्डले २३ अर्ब १३ करोडबराबरको म्युचुअल फन्ड, आठ अर्ब ७० करोडबराबरको साधारण सेयर, चार अर्ब ९४ करोडबराबरको हकप्रद सेयर,२० करोडबराबरको डिबेन्चर तथा पाँच करोडबराबरको एफपीओ निष्कासनका लागि स्वीकृति दिएको छ । न्युज एजेन्सी नेपाल