सरकारको पीएसपीपी कार्यक्रम निजी क्षेत्रको मनोबल उकास्न सहयोगी – चन्द्र ढकाल
२१ चैत भैरहवा । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारको निजी क्षेत्र संरक्षण तथा प्रवर्द्धन योजना (पीएसपीपी)ले मनोबल उकास्न सहयोग पुर्याउने बताएका छन् ।
उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेशको आठौँ सभामा बोल्दै ढकालले यस्तो बताएका हुन् । निजी क्षेत्रले सरकारको पीएसपीपी योजनालाई सकारात्मक मानेको उनले बताएका छन् ।
”हामीले वर्षौँदेखि निजी क्षेत्रको सुरक्षा र प्रवर्द्धनका लागि कार्ययोजना माग गर्दै आएका थियौँ । सरकारले हाम्रो प्रस्तावलाई स्वीकार गरेकोमा हामी आभारी छौँ,” उनले भने ।
सरकारले शिक्षण क्षेत्रलाई शान्ति क्षेत्र घोषणा गरेजस्तै उद्योग लक्षित योजना पनि आउनुपर्ने उनले बताए । सरकारले निर्वाध ढंगले उद्योग सञ्चालनका लागि नीति कार्यक्रम ल्याउनुपर्ने उनको माग छ ।
महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रका समस्या समाधानका लागि व्यवसायीबीच कार्यगत एकता आवश्यक रहेको बताए ।