आर्थिक शक्ति प्रविधि र मानव पुँजीको समन्वयमा निर्भर – सीईओ ज्ञवाली
१५ बैशाख काठमाडौं । लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले नेपाललाई डिजिटल नवप्रवर्तन, कृत्रिम बौद्धिकता र हरित प्रविधिमा आधारित लगानीको आकर्षक गन्तव्यका रूपमा विकास गर्न सकिने बताएका छन् । बेल्जियमस्थित नेपाली दूतावासले सोमबार ब्रसेल्समा आयोजना गरेको नेपाल–ईयू टेक फोरम २०२६ लाई भर्चुअल सम्बोधन गर्दै उनले ती क्षेत्रमा लगानी विस्तार गर्न आग्रह गरेका छन् ।उनले नेपाल र युरोपेली संघबीचको सहकार्यलाई विकास साझेदारीबाट रणनीतिक डिजिटल सृजनातर्फ विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए ।
विश्व अर्थतन्त्र तीव्र डिजिटल रूपान्तरण, कृत्रिम बौद्धिकता प्रविधि र कम्प्युटिङ क्षमताको बढ्दो मागका कारण पुनःपरिभाषित भइरहेको उल्लेख गरे । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले अबको आर्थिक शक्ति मूलतः प्रविधि, ऊर्जा र मानव पुँजीको समन्वयमा निर्भर हुने धारणा व्यक्त गरे ।
सरकारले डिजिटल अर्थतन्त्रको नीतिलाई केन्द्रमा राखी लगानी वातावरण सुधार गर्ने महत्त्वपूर्ण सुधारहरू अघि बढाइरहेको उल्लेख गरे । उनले विदेशी लगानी सीमा हटाइएको, आइटी तथा डिजिटल सेवामा स्वामित्व तथा व्यवसाय सञ्चालन प्रक्रियाहरू सरल बनाइएको जानकारी दिए ।
कृत्रिम बौद्धिकता प्रविधिको तीव्र विकाससँगै ऊर्जा आवश्यकतामा आएको परिवर्तनलाई जोड दिँदै उनले नेपालसँग रहेको ऊर्जा प्रणालीले डेटा सेन्टर, क्लाउड कम्प्युटिङ र कृत्रिम बौद्धिकता पूर्वाधारका लागि अत्यन्त उपयुक्त वातावरण प्रदान गर्ने धारणा व्यक्त गरे ।
लगानी बोर्डले डिजिटल पूर्वाधार, नियामकीय सुधार र मानव संसाधन विकासलाई समानान्तर रूपमा अघि बढाइरहेको बताए । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले डेटा सेन्टर, आइटी पार्क र डिजिटल हबहरूको विकासलाई प्राथमिकतामा राखेको जानकारी दिए ।