वैशाखभित्रै एसईईको रिजल्ट
१६ बैशाख काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा वैशाख महिनाभित्रै प्रकाशन गर्नेगरी तीव्र रूपमा काम भइरहेको जनाएको छ । अहिले परीक्षामा विद्यार्थीले प्राप्त गरेको नम्बर कम्प्युटरमा इन्ट्री गर्ने काम सकेर रुजु गर्ने काम भइरहेको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिए ।
रुजु गर्दा पनि कुनै प्राविधिक समस्या देखिएन भने नतिजा प्रकाशनको प्रक्रियामा जाने छ । अघिल्ला वर्षहरूमा करिब ३ महिना लगाएर प्रकाशन हुने नतिजा सरकारले पहिलोपटक एक महिनाभित्रै प्रकाशन गर्नेगरी तयारी अघि बढाएको छ । एक महिनाभित्र नतिजा प्रकाशन गर्न उत्तरपुस्तिका परीक्षा केन्द्रमा नै परीक्षण गरिएको थियो ।
अघिल्ला वर्षहरूमा परीक्षा सकिएपछि उत्तरपुस्तिका एक ठाउँबाट अर्को स्थानमा लैजाँदा नै लामो समय लाग्थ्यो । त्यसपछि गोप्य रूपमा परीक्षण केन्द्र तोक्ने गरिन्थ्यो । विभिन्न जिल्लालाई पायक पर्ने गरी जिल्लाअनुसार परीक्षण केन्द्र गोप्य रूपमा निर्धारण गरिन्थ्यो ।
तर, यस वर्ष उत्तरपुस्तिका परीक्षणको मोडालिटी नै फेरिएकाले एक महिनाभित्रै नतिजा प्रकाशन सम्भव भएको परीक्षा नियन्त्रक अधिकारीले बताए । छिटो नतिजा प्रकाशन हुँदा शैक्षिकसत्र पनि छिटो सुरु हुने र विद्यार्थीहरूलाई पनि मानसिक तनाव कम हुने सरकारको भनाइ छ ।
एसईई परीक्षा गएको १९ चैतदेखि सुरु भएर २९ चैतमा सकिएको थियो । यस वर्ष ५ लाख १२ हजार ४२१ जनाले एसईई दिएका छन् । नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले यस वर्ष एसईई दिएका हुन् ।