नेपाल विद्युत प्राधिकरणका होस्टलमा सुकुम्वासीलाई राखिने


Capital Headline
प्रकाशित मिति : शनिबार, बैशाख १९ २०८३
1.2K
SHARES

१९ वैशाख काठमाडौँ । सुकुम्वासी व्यवस्थापनका लागि नेपाल विद्युत प्राधिकरणका होस्टल भवनहरू प्रयोग गरिने भएका छन् ।प्राधिकरणले आज सूचना जारी गर्दै होस्टलहरू सरकारलाई उपलब्ध गराइने भएकाले प्राधिकरणअन्तर्गत सञ्चालनमा रहेका अधिकांश तालिम कार्यक्रमहरू स्थगित गरिएको जनाएको छ ।

प्राधिकरणको तालिम व्यवस्थापन विभागका अनुसार सरकारको अनुरोध तथा कार्यकारी निर्देशकको निर्देशनबमोजिम होस्टल भवनहरू अस्थायी रूपमा उपलब्ध गराइने निर्णय गरिएको हो ।यससँगै हाल सञ्चालनमा रहेका सबै तालिमहरू (फोरमेन तालिम बाहेक) अर्को सूचना नभएसम्मका लागि २०८३ वैशाख २० गतेदेखि स्थगित गरिएको छ ।

त्यस्तै, २०८३ वैशाख २४ गतेदेखि सञ्चालन हुने तय गरिएको तह–चार फोरमेन पदसम्बन्धी तालिम पनि अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जनाइएको छ ।

तालिम व्यवस्थापन विभागले तालिम स्थगनका कारण प्रशिक्षार्थीहरूमा पर्न गएको असहजताप्रति क्षमायाचना गर्दै आवश्यक व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेको छ ।

साथै, हाल होस्टल प्रयोग गरिरहेका प्रशिक्षार्थीहरूलाई २०८३ वैशाख १९ गते अपराह्न ४ बजेसम्म कोठा खाली गर्न निर्देशन दिइएको छ ।सरकारले सुकुम्वासी व्यवस्थापनका लागि अस्थायी आवासको रूपमा विभिन्न संरचनाहरू प्रयोग गर्ने नीति अनुरूप प्राधिकरणका होस्टलहरू प्रयोगमा ल्याउन लागेको जनाइएको छ ।