प्यालेष्टाइनमा इजरायलको हवाई आक्रमण, ३१ जनाको मृत्यु


Capital Headline
प्रकाशित मिति : बुधबार, बैशाख २९ २०७८
11.5K
SHARES

२९ वैशाख एजेन्सी । इजरायलले प्यालेष्टाइनमा गरेको हवाई आक्रमणमा कम्तिमा ३१ जनाको मृत्यु भएको छ । प्यालेष्टाइनी लडाकु समुह हमास र इजरायली सेना बीच जारी हिंसाकै क्रममा भएका रकेट र हवाई आक्रमणमा दुवैतर्फ गरि ३१ जनाको मृत्यु भएको हो ।

प्यालेष्टाइन तर्फ २८ र इजरायल तर्फ ३ जनाको मृत्यु भएको हो । २ सय बढी घाइते भएका छन् । सन् २०१७ पछि यी दुई पक्षबीच भएको यो नै ठूलो हिंसात्मक झडप हो ।

मंगलबार इजरायली सेनाको हवाई आक्रमणबाट गाजा पट्टीमा रहको १३ तले भवन ध्वस्त भएको छ ।

इजरायली सेनाले भवनमा रहेका मानिसहरुलाई बाहिर निस्कन चेतावनी दिएको डेढ घण्टा पछि ३ सय भन्दा बढी हवाई र रकेट आक्रमण गरिएको थियो ।

यसैबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले सीमा रेखा नाघेका प्रतिक्रिया दिंदै यसको ठूलो मुल्य चुकाउनुपर्ने चेतावनी दिएका छन ।

तर हमासले भने इजरायलले जबरजस्ती रुपमा आक्रमण गरेको भन्दै प्रतिकार गर्ने जवाफ दिएको छ । इजरायल र प्यालेस्टाइनबीच पछिल्लो समय जेरुसलममा रहेको प्रख्यात अल अक्सा मस्जिदमाथि दाबीको विषयले हिंसा चुलिएको हो ।

इजरायलले पनि सो मस्जिद आफुहरुको पवित्र धार्मिक स्थल भएको दाबी गरेपछि त्यही मस्जिदकै बिषयमा दुई देशबीच तनाब बढेको हो ।

अन्तर्राष्ट्रिय समुदायले दुवै पक्षलाई संयम अपनाउन आग्रह गरेको बिबिसीले जनाएको छ ।