एनआरएनए अमेरिकाको अध्यक्षमा सुवेदी निर्वाचित
१७ जेठ काठमाडौ।अहिले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्षमा बुद्धिसागर सुवेदी निर्वाचित भएका छन्।
गैरआवासीय नेपालीको साझा चौतारीको रुपमा रहेको अभिभावकीय संस्थामा सुवेदीले नेतृत्व सम्हाल्ने भएका छन्। वर्ष २०२१ देखि २०२३ सम्मको दुई वर्षका लागि नयाँ कार्यसमिति चयन भएको हो।
मे २९ र ३० मा अनलाइनद्वारा मतदान भएको हो।सुवेदी चितवनको माडी नगरपालिका वडा ५ बरमपुरका बासीन्दा हुन्।१८ वर्षदेखि अमेरिका रहेका सुवेदीको हाल भरतपुर वडा नम्बर चारस्थित चिसापानी टोलमा घर रहेको छ। निर्वाचित भएपछि सुवेदीले गैरआवासिय नेपालीको हितमा समर्पित हुने बताएका छन्। यसअघि उनी विस्कन्सिन राज्यको च्याप्टर अध्यक्ष हुँदै एनआरएनए अमेरिकामा उपाध्यक्ष थिए।
निर्वाचित सुवेदीले भने,‛अमेरिका बनाउनका लागि नेतृत्व गर्ने आँट बोकी म यस अभियानमा होमिएको हुँ। मलाई विजयी बनाएर एनआरएनए अमेरिकाको नेतृत्व गर्ने कुरामा बल मात्र दिएको छैन, विश्वस्त पनि बनाएको छ।’
एनआरएनए एनसीसी अमेरिकाको राष्ट्रिय निर्वाचन आयोगका अनुसार यसपटक २० हजार १ सय ३९ मतदाता थिए। यसमध्ये १५ हजार ७ सय ६८ मत खसेको थियो। अध्यक्षमा चार जनाको उम्मेदवारी परेको थियो। सुवेदीले ५ हजार ६ सय १८ मत ल्याएर विजयी भएका हुन्।
उनका निकटम प्रतिद्धन्द्धी कृष्ण लामिछानेले ५ हजार २ सय ३३ मत ल्याए। त्यसैगरी डा. अर्जुन बञ्जाडेले ४ हजार १ सय २८ मत र तिलक केसीले ५ सय ६७ मत प्राप्त गरेका छन्।