चार मन्त्रीले देश हाँक्न सक्दैनन् – प्रधानमन्त्री ओली


Capital Headline
प्रकाशित मिति : मंगलबार, असार ८ २०७८
19.6K
SHARES

८ असार काठमाडौ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतले सरकारका काममा एकपछि अर्को अवरोध गरेको टिप्पणी गरेका छन्। उनले अदालतले अफ्ठ्यारोमा पारेको र आफूले कामै गर्न नपाएको बताएका छन्। सर्वोच्च अदालतले मन्त्रिपरिषद् पुनर्गठन र विस्तार गर्ने प्रधानमन्त्रीको निर्णय खारेज गरेपछि बेलुका बालुवाटारमा निवर्तमान मन्त्रीहरूसँगको भेटमा ओलीले भने- ‘अदालतको निर्णयलाई मान्नैपर्छ। नमानी सुख छैन। तर, अदालतले एकपछि अर्को अवरोध गर्ने काम गरिहेको छ।’

उनले निर्वतमान मन्त्रीहरूलाई धैर्य गर्न पनि आग्रह गरे। प्रतिनिधि सभा विघटन मुद्दामा हप्ता, दश दिनमा फैसला आउने भन्दै उनले त्यसै अनुसार अघि बढ्ने बताए।

चार मन्त्रीले देश हाँक्न सक्दैनन्। अदालतले कोभिड नियन्त्रण गर्न भन्छ, आफैं फेरि स्वास्थ्य मन्त्री हटाउँछ। तपाईंहरु मन्त्रिमण्डलमा नरहे पनि हामी साथसाथै हुन्छौं’, प्रधानमन्त्रीको भनाइ उदृत गर्दै निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाले भने।

प्रधानमन्त्री ओलीले अदालतबाट कानुन र संविधानलाई चुनौती दिने कार्य भएपनि अन्तरिम आदेश मानेरै अघि बढ्ने उल्लेख गरेको अरगरियाले बताए।