यी पाँच विद्यार्थी संगठनले प्रधानमन्त्रीविरुद्ध प्रदर्शन गर्ने
९ असार काठमाडौं । अब पाँच राजनीतिक दलका विद्यार्थी संगठनमा आबद्ध विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रदर्शन गर्ने भएका छन् ।
नेविसंघ, अनेरास्ववियू, अनेरास्ववियू क्रान्तिकारी, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौँमा आबद्ध विद्यार्थीहरुले बिहीबार (भोलि) दिउँसो ३ बजे काठमाडौंको प्रदर्शनीमार्गमा प्रदर्शन गर्न लागेका हुन् ।
देशभर प्रदर्शन गर्ने तयारी रहेको संयुक्त विज्ञप्तिमार्फत उनीहरुले जनाएका छन् ।
जनताको ठूलो त्याग, बलिदान र समर्पणको जगमा प्राप्त संघीय लोकतन्त्रिक गणतन्त्र, विधिको शासन र संविधानको हुर्मत काढ्न प्रधानमन्त्री ओली निरन्तर उद्धत रहेको उनीहरुको आरोप छ ।
प्रधानमन्त्री ओलीका हरेक असंवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी कदमलाई संविधानरक्षकको कर्तव्यबाट च्युत भएर संवैधानिक राष्ट्रपतिले निरन्तर साथ दिनु झनै विडम्बनापूर्ण बनेको विज्ञप्तिमा उल्लेख छ ।