प्रतिनिधिसभाको अधिकार राष्ट्रपति कार्यालयबाट अपहरण भयो – सभामुख सापकोटा


Capital Headline
प्रकाशित मिति : मंगलबार, असार १५ २०७८
4.9K
SHARES

१५ असार काठमाडौं ।आज सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको अधिकार राष्ट्रपति कार्यालयबाट अपहरण भएको आरोप लगाएका छन् ।

सभामुख सापकोटाले मंगलबार संघीय संसद भवनमा आयोजित अन्तर्क्रियामा संविधानको आत्मामाथि प्रहार भएको बेला आफू चुप बस्न नसक्ने बताएका छन ।

अध्यादेशबाट शासन गर्ने र अदालतको आदेश पालना नगर्ने कामले दुर्घटना निम्ताउने खतरा बढेको उनले बताएका छन । ‘सर्वदलीय बैठक गरौं भनेको थिएँ,’ उनले भने, ‘उहाँले केही समयपछि गरौं भन्नुभयो ।

आफूले नागरिकता विधेयकको बारेमा पनि कुरा राखेको तर प्रधानमन्त्री ओलीले ध्यानाकर्षण भएको छ भनेर जवाफ दिएको उनले सुनाएका छन । उनले भने, ‘राज्यका तीन अंगले के गरिरहेका छन् भन्ने जनतालाई जानकारी दिनुपर्छ, छलफल र बहस गर्नुपर्छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध अदालतमा दायर रिटमाथि बहस चलिरहेको चर्चा गर्दै उनले अदालतलाई पनि सही निष्कर्षमा पुग्नका लागि सहज हुनेगरी छलफल गर्नुपर्नेमा जोड दिएका छन । अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा परिवर्तन भइरहेको समयमै संसद विघटन भएको उनको भनाइ थियो ।