नेता गौतमले मागे यस्तो पद
१९ असार काठमान्डौ । अहिले नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफू पार्टीमा फर्किसकेको बताउँदै अब पार्टी एकताका लागि पहल गर्नुपर्ने बताएका छन् । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा धारणा राख्दै उपाध्यक्ष गौतमले आफू आएपछि पार्टी एकताले पूर्णता पाउने विश्वास व्यक्त गरेका हुन् ।
‘म तपाईंकोमा आइसकेँ, अब फर्किन्न,’ उनको भनाइ थियो । गौतमले बृहद कम्युनिस्ट एकताका लागि माधव नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि एकै ठाउँमा ल्याउनुपर्ने बताएका छन् ।
गौतमले आफू सधैँ पार्टी एकताको पक्षमा रहेको कुरा दोहोर्याउँदै भने, ‘पार्टी एकता आजको मुख्य आवश्यकता हो । यसका लागि दुवै पक्ष लचक हुनैपर्छ । कसले हामीलाई छिन्नभिन्न पर्न खोज्दैछ भन्ने बुझ्न जरुरी छ ।’
गौतमले पार्टी एकताको जिम्मा आफूलाई दिन पनि आग्रह गरे । ‘म यति दिन भन्दिनँ तर केही दिनभित्र एकता गर्छु, तपाईं चिक्त बुझ्ने गरी नै एकता गर्छु,’ उनले भने, ‘एमालेपछि अन्य पार्टीसँग पनि एकता गर्छु । विश्वास गर्ने नगर्ने तपाईंको कुरा हो ।’
उनले अध्यक्षको भूमिका संरक्षकको हुनुपर्ने बताउँदै कसैले कसलाई सम्मान गरेन भन्दैमा त्यही खालको व्यवहार देखाउन नहुने जिकिर गरे । ‘अध्यक्ष भएपछि कसैको पक्ष विपक्षीमा हुनुहुँदैन । मैले पटक पटक भन्दै आएको अहिले पनि यही भन्छु,’ गौतमले भने ।