विद्यार्थी संगठनद्धारा मसाल जुलुस प्रदर्शन
१९ असार काठमाडौ । आज पाँच दलीय विपक्षी गठबन्धन निकट विद्यार्थी संगठनहरुले सरकार विरुद्ध प्रदर्शन गरेका छन्। राजधानीको मीन भवन, नयाँ बानेश्वर क्षेत्रमा उनीहरुले प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीहरुबीच झडप समेत भएको थियो।
मसाल जुलुससहित प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुमाथि प्रहरीले बल प्रयोग गरेपछि केहीबेर अवस्था तनावग्रस्त बनेको थियो। प्रहरीसँगको झडपमा नेकपा एमाले माधव नेपाल पक्षीय अनेरास्ववियुका महासचिव आरती लामा घाइते भएकी छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक संसद विघटन गरेपछि विपक्षी गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले माधव नेपाल समूह, जसपा उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चा निकट विद्यार्थी संगठनहरुले निरन्तर सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन्।