प्रधानमन्त्रीको आक्रोश : यता वार्ता भन्ने , उता पुत्ला सल्काउने ?
१९ असार काठमाडौं । आज प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालपक्षले वार्ताका नाममा आफूहरुलाई अल्झाउने काम मात्र गरेको आरोप लगाएका छन्। बालुवाटारमा आयोजित एमाले केन्द्रीय कमिटीको बैठकमा सम्बोधन गर्दै उनले भने, ‘दुईजना वार्ता भनेर लगाइदिने, उता पुत्ला जलाइदिने। हामीलाई यता वार्ता भनेर अल्झाउने ?’
उनले नेता नेपालले केन्द्रीय कमिटी बैठक रोक्न भनेकोमा आफूले हस्ताक्षर फिर्ता लिन भनेको बताए। ‘माधवजीले भन्नुभयो, केन्द्रीय कमिटी बैठक रोक्नोस्। मैले भने,’हस्ताक्षर फिर्ता लिनुहोस्, एमाले ढालिसक्ने, असरल्ल पार्ने, कति रोकिनेरु एमाले सकिउन्जेल रोकिने ?’
प्रधानमन्त्री ओलीले विपक्षी मोर्चा कसका विरूद्ध बनेको हो ? भनी प्रश्न उठाए। एमालेका विरूद्ध होइन ? कोभिड र बाढीपीडितका लागि हो ? उनको प्रश्न थियो। मोर्चाले सभ्य भाषासमेत बोल्न नजान्ने भन्दै उनले आलोचना गरे। विपक्षी गठबन्धनका नेताले राष्ट्रपतिविरूद्ध तथानाम बोलेको उनको गुनासो थियो।