माओवादी केन्द्र खारेजीको लागि निर्वाचन आयोगमा निवेदन


Capital Headline
प्रकाशित मिति : बुधबार, असार २३ २०७८
9.5K
SHARES

२३ असार काठमाडौं। नेकपा एमालेमा प्रवेश गरेका पूर्वमाओवादी नेताहरूले नेकपा माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन बुझाएका छन्। बुधवार दिउँसो आयोगको कार्यालय पुगेर लीलबहादुर थापासहितका नेताहरूले निवेदन दिएका हुन्।

‘हामीले पेस गरेको निवेदन दर्ता भएको छ,’ थापाले भने, ‘अब प्रक्रियामा जान्छौं भनेर आयोगका प्रतिनिधिले भन्नुभएको छ।’ निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले नेताहरु आयोगको कार्यालय आएको जानकारी दिए।

सर्वोच्च अदालतले साबिकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता खारेज गरेपछि नेकपा एमालेतिर लागेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी तथा राष्ट्रियसभा सदस्य रामबहादुर थापालाई कारबाही गरेको थियो। त्यही कारणका कारण उनीहरूको सांसद पद गयो।

अवैधानिक पार्टीले गरेको कारबाहीका कारण जनताबाट निर्वाचित आफूहरूको पद गएका कारण उनीहरूले दल खारेजीको लागि आयोगमा निवेदन दिएका एक पूर्वमाओवादी नेताको दाबी छ। माओवादी केन्द्र अवैधानिक रूपमा चलेको, ९ वर्षदेखि महाधिवेशन नगरेको उनीहरूको आरोप छ।

माओवादी केन्द्रको सातौं महाधिवेशन २०६९ साल माघमा भएको थियो। राजनीतिक दल सम्बन्धी व्यवस्थामा पाँच वर्षभित्रै महाधिवेशन गरिसक्नुपर्ने प्रावधान छ।

६ महिना म्याद थप्न मिल्ने प्रावधान बमोजिम पनि ७५ असार भित्रै भइसक्नुपर्ने महाधिवेशन अहिलेसम्म नभएकोले माओवादी केन्द्रको वैधानिकता स्वतः खारेज भएको दाबीसहित माओवादी छाडेका नेताहरूले आयोगमा निवेदन दिएको बताइएको छ।