यस्तो एजेण्डा सहित आज पनि एमाले कार्यदलक बैठक


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असार २५ २०७८
8K
SHARES

२५ असार काठमाडौं । नेकपा (एमाले)को विवाद समाधान गर्न गठित कार्यदलको बैठक आज पनि बस्दै छ । बैठक सिंहदरबारमा बिहान साढे ११ बजे बस्ने तय गरिएको छ ।

एमालेको विवाद समाधान गर्न केही दिनयता नेताहरु निरन्तर छलफलमा रहे पनि ठोस प्रगाति भने भएको छैन । बिहीबार दुईपटक बसेको बैठकले कुनै निष्कर्ष निकालेन ।

प्रधानमन्त्री एवं अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता झलनाथ खनाल तथा माधवकुमार नेपाल गरी एमाले दुई समूहमा विभाजित छ । उनीहरुलाई एक बनाउने प्रयासले अहिले तीव्रता पाएको हो ।

कार्यदलका नेपालपक्षीय सदस्य घनश्याम भुसालले बिहीबार साँझको बैठकपछि १० दिनदेखि कुनै प्रगति हुन नसकेको बताएका थिए ।

“हामीले १० दिनअघिबाट खास प्रगति गरेका छैनौँ । अनौपचारिक छलफल गरेपछि केही एजेन्डा तयार गरेका थियौँ । तर, विभिन्न कारणले ठोस, खास प्रगति हुन सकेको छैन,” उनले भने ।ओली पक्षका तर्फबाट कार्यदल संयोजकसमेत रहेका नेता सुवास नेम्वाङले भने आफू आशावादी रहेको बताएका थिए ।