माओवादी केन्द्र अवैध : माग बमोजिम खारेजी गर्नुहोस , प्रमाण हामी दिन्छौ – एमालेका पूर्वमाओवादी नेता


Capital Headline
प्रकाशित मिति : शुक्रबार, असार २५ २०७८
5.1K
SHARES

२५ असार काठमाडौ  । आज माओवादी केन्द्रको दल दर्ता खारेजी माग गरेका एमालेका पूर्वमाओवादी नेताहरू निर्वाचन आयोगमा पुगेर आफूहरुको माग बमोजिम दर्ता खारेजीमा खुट्टा नकमाउन आयुक्तहरुलाई आग्रह गरेका छन् ।

निवेदनमा भइरहेको प्रगति बुझ्न टोपबहादुर रायमाझीको नेतृत्वमा प्रभु साह, मणि थापा र गौरीशंकर चौधरीलगायत नेताहरू ११ बजे निर्वाचन आयोग पुगेका थिए ।

अधिवक्ता सरोज बुढाथोकीमार्फत बुधबार उनीहरूले माओवादी केन्द्रको दल दर्ता खारेजीको निवेदन आयोगमा दर्ता गराएका थिए। नेताहरूसँगै आयोग पुगेका केन्द्रीय सदस्य लिलबहादुर थापाले आयुक्तहरूसँग निवदेनबारे छलफल गरेको जानकारी दिए।

आयुक्तहरूसँग थप प्रमाण चाहिए ल्याउन तयार छौं, तपाईंहरू यसलाई द्रुत गतिमा अगाडि बढाउनुहोस् भन्यौं,’ थापाले भने, ‘तपाईंहरू कसैको डर, धाकमा नपर्नुहोस्, प्रमाण पुर्याएर दर्ता खारेजी गर्न खुट्टा नकमानुहोस् भन्ने आग्रह गर्‍यौं ।’

लामो समयसम्म महाधिवेशन नगराएकाले माओवादी केन्द्र अवैध भएको र उक्त पार्टीले आफूहरूमाथि गरेको कारवाही पनि अवैध हुने तर्क उनीहरूको छ।