नेपाल पक्षले देउवालाई दिएको समर्थन कायम छैन – नेता पौडेल


Capital Headline
प्रकाशित मिति : सोमबार, असार २८ २०७८
6.6K
SHARES

२८ असार काठमाडौँ । पछिल्लो एक साताको निरन्तर गृहकार्यपछि एमालेको १० सदस्यीय कार्यदलले पार्टी विवाद निरूपणका लागि दसबुँदे सहमतिको प्रस्ताव तयार गरेको छ । दोस्रो तहका नेताहरूले गरेको यो सहमतिमा नेता माधवकुमार नेपालले भने असन्तुष्टि जनाएका छन् ।यसै सन्दर्भमा एमाले उप- महासचिव विष्णु पौडेलले यस्तो बताएका छन ।

एमाले एकताबद्ध भइसकेपछि र एमालेभित्रका सबै समस्यालाई आन्तरिक रूपमा समाधान गर्ने बिन्दुमा पुगिसकेपछि अब हिजो विमति र असहमतिका बेलामा गरिएका सबै कामकारबाही स्वतः निष्प्रभावी हुनेछन् । त्यसखालका कामकारबाहीबाट सिंगो नेकपा एमाले अलग हुन्छ । हिजो गरिएको हस्ताक्षरको प्रयोजन अब सकिएको छ ।

विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका निम्ति हाम्रा केही सदस्यले गर्नुभएको हस्ताक्षर एकतापूर्वको विमति, असहमतिको हस्ताक्षर थियो । हामी एकताबद्ध भएका छौं, अब त्यो हस्ताक्षर प्रयोजनहीन भएको छ । देउवालाई प्रधानमन्त्री बनाउन २३ जनाले गर्नुभएको हस्ताक्षर अब कायम छैन । देउवालाई प्रधानमन्त्री बनाउने प्रयोजनमा अब उहाँहरूको हस्ताक्षर प्रयोग हुन सक्दैन ।