फैसलाविरुद्ध आँधीबेहरी ल्याउँछौं – नेता बस्नेत
२८ असार काठमाडौं। आज सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना र शेरबाहदुर देउवालाई प्रधानमन्त्री बनाउने फैसला गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली समर्थित युवा संघले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको छ। सोमबार माइतीघर मण्डलबाट नयाँ बानेश्वरसम्म एमालेका युवा नेता महेश बस्नेतको नेतृत्वमा राष्ट्रिय युवा संघले सर्वोच्चका फैसलाविरुद्ध प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा सहभागीहरूले ‘शक्ति पृथकीकरणको रक्षा गरौं, संवैधानिक सर्वोच्चता कायम गरौं’, ‘आइ एम विथ केपी ओली’लगायत नारा लगाएतका थिए। एमाले नेता बस्नेतले प्रतिनिधिसभा पुनस्थापना गर्ने सर्वोच्चको फैसलाविरुद्ध अब सडकमा युवाको आँधीबेहेरी ल्याउने बताए।
न्यायमूर्तिहरूले संविधानको रक्षा गर्न नसकेको बताउँदै बस्नेतले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाइ अर्को खिलराज रेग्मी बन्ने सपना नदेख्न चेतावनी दिए। ‘यो फैसला गरेर तपाईँ छ महिनापछि अर्को खिलराज रेग्मीको नयाँ स्वरूपसहितको प्रधानमन्त्री बन्ने भिजन रहेको देखियो,’ उनले भने ।
उनले माइतीघरबाटै अब मुलुक द्वन्द्वमा प्रवेश गरेको दाबी गरे। उनले प्रधानन्यायधीश जबरा प्रधानमन्त्री, न्यायमूर्ति, राष्ट्रपति सबै आफैँ बन्न खोजेको आरोप पनि लगाए। ‘प्रधानन्यायधीशले सबैको अधिकार प्रयोग गरेर मुलुकलाई द्वन्द्वको बाटो देखाउदैँ छन्, बस्नेतले भने, ‘यसले राजनीतिक समाधन दिदैँन।’