विपक्षी गठबन्धनबाट नेपाल समूह बाहिरिने


Capital Headline
प्रकाशित मिति : मंगलबार, असार २९ २०७८
5.1K
SHARES

२९ असार काठमाडौ । अब केपी शर्मा ओलीको विरुद्ध एकजुट भएर लागेको पाँच दलीय गठबन्धनबाट एमालेको माधवकुमार नेपाल बाहिरिने भएका छन् । सोमबार साँझ बसेको गठबन्धनको बैठकमा नेपाल समूह औपचारिक रुपमा गठबन्धनबाट बाहिरिने जानकारी दिएका हुन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई नेता नेपालले आफूहरु गठबन्धनबाट बाहिरिने जानकारी गराएका थिए । गठबन्धन बैठकमा पनि नेता नेपालले सोही कुरा दोहोर्याए ।

‘प्रतिनिधिसभा पुनःस्थापनासम्मको अभियानमा साथ दियौं, अब हाम्रो बाध्यता बुझिदिनोस, हामी गठबन्धनमा रहँदैनौं’ बैठकमा माधव नेपालको भनाइ उद्दृत गर्दै एक नेताले भने, ‘नेता नेपालले गठबन्धनले सफलता प्राप्त गरेकोमा बधाई दिनुभयो, देउवा नेतृत्वको मन्त्रिपरिषदलाई पनि बधाई दिनुभयो ।’

सोमबार साँझ नेता नेपाल निवास कोटेश्वरमा बसेको बैठकपछि एमालेको नेपाल समूहका नेता रघुजी पन्तले अब आफूहरू सिंगो एमालेलाई एकताबद्ध बनाउन लाग्‍ने बताए । उनले भने, ‘हस्ताक्षर फिर्ता नलिने कुरा सर्वोच्च अदालतको फैसला नहुन्जेलसम्मका लागि मात्रै हो । अब पार्टीले जे भन्छ त्यही गर्छौँ । सिंगो एमालेलाई एकतावद्ध बनाउने हाम्रो प्रयास हो ।’उनले अब गठबन्धनमा आफूहरूको निरन्तरता नरहन सक्ने बताए ।