एमाले स्थायी कमिटी बस्दै: माधव पक्ष नजाने , यस्ता छन एजेण्डा
१ साउन काठमाडौ । आज नेकपा एमालेले स्थायी कमिटीको बैठक बस्दै छ । बिहान ११ बजे तुलसीलाल प्रतिष्ठान ग्वार्कोमा बस्ने गरी बैठक बोलाइएको छ । सरकारबाट बाहिरिएपछि पहिलो पटक बस्न लागेको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सदस्यहरुलाई पनि खबर गरिएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
तर असन्तुष्ट माधवकुमार नेपाल पक्षका नेताहरुले एकपक्षीय ढंगले बोलाएको बैठकमा सहभागी हुने सम्भावना नरहेको बताएका छन् ।
एमाले उपाध्यक्ष समेत रहेका माधव पक्षका नेता युवराज ज्ञवालीले भन्नुभयो, ‘‘पार्टीभित्र तिक्तता बढेको छ । पहिला अध्यक्ष र वरिष्ठ नेता भेटवार्ता गरेरमात्रै बैठक बोलाउने भनिएकोमा सल्लाह नै नगरी बोलाएको बैठकमा हाम्रो समूह सहभागी हुने सम्भावना छैन ।’
यसअघि गत असार २७ गते एमाले विवाद समाधान गर्न गठित कार्यदलले एमाले एकतासम्बन्धी १० बुँदे सुझाव अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई बुझाएको थियो ।
कार्यदलले स्थायी कमिटी बैठक बोलाउनुअघि अध्यक्ष ओली र नेपालबीच भेटवार्ता गरेर सहमतिमा बैठक बोलाउन सुझाव दिएको थियो । तर, कार्यदलको सुझाव र एकताको भावना विपरित अध्यक्ष ओलीले असार २८ गते सर्वोच्चको फैसलापछि वरिष्ठ नेता माधवकुमार नेपाललाई गद्दार भन्दै आरोप लगाएका छन् ।
बुधबार आफ्नो निजी निवास बालकोटबाट ओलीको यस्तो उद्घोषले एकता लागि भएको १० बुँदे सहमति कार्यान्वयन नहुने सम्भावना देखिएको छ ।