यस्तो निष्कर्ष निकाल्दै जसपा संसदीय दलको बैठक सकियो
२ साउन काठमाडौं। आज जनता समाजवादी पार्टी(जसपा)को संसदीय दलको बैठक सकिएको छ। शनिबार पार्टी कार्यालय बालकुमारीमा जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षको संसदीय दलको बैठक थियो। बैठकले भोलिदेखि सुरु हुने संघीय संसद्को अधिवेशनमा सत्ता पक्षको रोमा बस्ने निर्णय गरेको छ।
आफूहरु सत्ता गठबन्धनमा रहेको र सरकारमा जाने तयारीमा रहेकाले सत्ता पक्षको रोमा बस्ने निर्णय गरेको पार्टी नेता महेन्द्र राययादवले जानकारी दिए।
उनले सत्ता पक्षको रोमा बस्ने व्यवस्था गर्न सभामुखलाई आग्रह गर्ने निर्णय गरेको पनि बताए। ‘सरकारलाई समर्थन गरेको र सहभागी हुने तयारीमा रहेकाले सत्ता पक्षको रोमा बस्ने व्यवस्था गर्न सभामुखलाई आग्रह गर्ने निर्णय गरेका छौं,’ नेता राययादवले भने।
त्यस्तै बैठकले पार्टीबारे निर्वाचन आयोगमा भोलिदेखि हुन लागेको सुनुवाइमा आफ्नो समूहका सबै कार्यकारिणी समिति र सांसदहरू उपस्थित हुने निर्णय पनि बैठकले गरेको छ। ‘पार्टीको आधिकारिकताबारे भोलिदेखि निर्वाचन आयोगमा हुन लागेको सुनुवाइमा हाम्रो पक्षका सबै कार्यकारिणी समिति सदस्य र सांसद उपस्थिति हुने निर्णय भएको छ,’ उनले भने।
त्यस्तै सरकारमा जतिसक्यो छिटो जाने र जनताको सरोकार र समस्या जोडिएका मन्त्रालय प्रधानमन्त्रीसँग माग्न अधयक्षलाई नेताहरूले बैठकमा सुझाव दिएका छन्। ‘हामी यथाशिघ्र सरकारमा जाने तयारीमा छौं। निर्वाचन आयोगबाट टुंगिदावित्तिकै सरकारमा जान्छौं,’ राययादवले भने।
जसपा सत्ता समीकरणको विषयलाई लिएर दुई टुक्रा भएको छ। यादव समूहले अहिलेको सत्ता गठबन्धनलाई समर्थन गरेको छ भने अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहले एमालेसँग सहकार्य गरिरहेको छ। पार्टीलाई दुई टुक्रा बनाउने विषयमा निर्वाचन आयोगमा आइतबारदेखि सुनुवाइ हुँदैछ।
दल बैठकमा यसअघि ठाकुर समूहमा खुलेका प्रमोद साह, अमृता अग्रहरी, रानी मण्डल र रुही नाज सहभागी भएका छन्। भने सांसदद्वय राजकिशोर यादव र नरमाया ढकालले आउन सहमति जनाएका एक सदस्यले बताए। ‘आज घरायसी काममा रहेकाले दलको बैठकमा सहभागी हुन नपाएको र आगामी बैठकमा आउने प्रतिबद्धता जनाउनु भएको छ,’ ती सदस्यले भने।
३२ सदस्यीय संसदीय दलमा यसअघि ठाकुर समूहमा २० र यादव समूहमा १२ सांसद थिए। आजको बैठकमा चार जना सहभागी भएका र दुई जनाले प्रतिबद्धता जनाएकाले यादव समूहमा १८ जना पुगेका छन् भने ठाकुर समूहमा सांसद संख्या घटेर १४ जनामा आइपुगेको छ।
यसअघि यादव समूहमा यादव, डा. भट्टराईसहित राजेन्द्र श्रेष्ठ, रेणु यादव इस्तेह्याक राई, प्रदीप यादव, रामबाबु यादव, रामसहाय यादव, डा. सूर्यनारायण यादव, डा. सुरेन्द्र यादव, लिला सिटौला र महेन्द्र राययादव थिए।