संसद विघटन गर्ने र त्यही ठिक हो भन्ने लज्जाजनक कुर्तर्क गर्ने हो – डा. भट्टराई
३ साउन काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ओली सरकारको तीन वर्षे कार्यकाल लोकतन्त्रका लागि धब्बा भएको बताएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने प्रयोजनको संसद् बैठकमा बोल्दै भट्टराईले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् र व्यवस्थालाई समृद्ध बनाउने जिम्मेवारी भुलेर एउटा गलत संयममा परिणत गरिदिएको बताए ।
“संविधान जारी भएपछिको पहिलो निर्वाचनबाट आएको प्रधानमन्त्रीको जिम्मेवारी संविधान र व्यवस्थालाई समृद्ध गराउने हुन्थ्यो, तर, त्यसको विपरीत दुइदुईपटक संसद् विघटन गर्नुभयो,” भट्टराईले भने, “त्यसकारण उहाँको तीन वर्षे कार्यकाल लोकतन्त्रका लागि धब्बा हो ।” उनले संविधानमा लेखिएका कुराको अपव्याख्या पनि केपी शर्मा ओली र उनको समूहबाटै भएको दाबी गरे ।
“संविधानको व्यवस्था नहेरी प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउँछ, चुनावमा जाने कुरा अलोकतान्त्रिक हुँदैन भनेर पनि भनियो,” भट्टराईले भने, “संविधानको व्यवस्था नहर्ने, संविधानको अपव्याख्या गर्ने, संसद विघटन गर्ने र त्यही ठिक हो भन्ने लज्जाजनक कुर्तर्क गर्ने कुरा लोकतन्त्रका लागि कालो धब्बा नै थियो ।”