मत नदिने निर्णय गर्दै नेपाल पक्षका १५ सांसद संसदबाट बाहिरिए


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन ३ २०७८
4.1K
SHARES

३ साउन काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले लिन लागेको विश्वासको मतदानमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका केही सांसदहरू सहभागी नहुने भएका छन्। उनीहरू प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने सन्दर्भमा तटस्थ बस्ने भएका छन्।

नेता नेपालसँगको छलफलपछि मतदान प्रक्रिया सुरु हुनुभन्दा पहिला नै उनीहरू संसद् भवनबाट बाहिरिएका छन्। संसद्मा अनैतिक काम भएकाले आफूहरू मतदान प्रक्रिया सहभागी नहुने सांसद झपट रावलले बताए।

जनता समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतो समूहले देउवालाई विश्वासको मत दिने कुरा अनैतिक भएको उनीहरूले बताएका छन्।

‘महन्थ ठाकुर र राजेन्द्र महतोजस्ता प्रतिगामीहरूले सरकारलाई समर्थन गर्ने भए। हाम्रो पार्टीमा विभाजन ल्याउनलाई केपी शर्मा ओलीलाई साथ दिनेहरू अहिले फेरि शेरबहादुर देउवालाई समर्थन गरेका छन्,’ रावलले भने,‘ यो अनैतिकता भयो। त्यस कारण हामी मतदान प्रक्रियामा भाग लिँदैनौं।’

आफूहरूको उद्देश्य संसद् बचाउनु भएकाले ठाकुर र महतोले विश्वासको मत दिने भएपछि संसद् बच्ने उद्देश्य पूरा भएको रावलले बताए। रावलसँगै घनश्याम भुसाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, सोमप्रसाद पाण्डे, दीपकप्रकाश भट्ट, यज्ञराज सुनुवार, नारायण खतिवडा, गोकर्ण विष्टलगायत सांसदहरू संसद् भवनबाट निस्किएका छन्।

वरिष्ठ नेता नेपालसहित केही सांसदहरू भने संसद् भवनमै छन्। यसअघि नेपाल समूहमा रहेका एमाले उपाध्यक्ष भीम रावलले राजनीतिक अनैतिक काम भएको भन्दै राजीनामा दिएका थिए।