यस्तो निणर्य गर्दै नेपाल समुहको बैठक सम्पन्न


Capital Headline
प्रकाशित मिति : मंगलबार, साउन ५ २०७८
5.6K
SHARES

५ साउन काठमाडौं । आज एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारमा सहभागी हुने–नहुने विषयमा सांसदहरूसँग सुझाव मागेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मतदान गर्ने सांसदहरूसँग उनले मंगलबार बानेश्वरस्थित अर्याल होटलमा भएको छलफलमा सुझाव मागेका हुन् ।

“उहाँले सरकारमा जाने–नजाने  विषयमा सुुुझाव माग्नुभयो । हामीले हाम्रो सुझाव दियौँ ।  त्यसपछि उहाँले दुईतिन दिनभित्र ठोस प्रस्ताव बनाउने र त्यसबारे कानुनी परामर्श थाल्ने बताउनुभएको छ,” छलफलमा सहभागी सांसद मेटमणि चौधरीले भने । उक्त समूहका एक नेताका अनुसार एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्ष र संसदीय दलको नेताबाट हटाउने विषयमा पनि छलफल भएको छ ।

“ओलीको अनुहार देखाएर निर्वाचनमा जान सकिँदैन । सके ओलीलाई संसदीय दल र पार्टीबाट हटाउने, नयाँ संसदीय दलको अध्यक्ष बनाएर जाने । त्यो सम्भव नभए नयाँ पार्टी बनाएर जानुपर्छ भन्ने कुरा छ,” ती नेताले भने ।

उनले केन्द्रीय कमिटीमा आफूहरूको बहुमत पुग्ने र संसदीय दलमा पनि पुग्ने सम्भावना रहेको बताए ।  “केन्द्रीय कमिटीमा संख्या पुर्‍याउँछौँ । ओली अध्यक्ष हुँदा आफ्नो मान्छेलाई टिकट दिएकाले संसदीय दलमा उहाँको अलिक बढी देखिन्छ । तर, परिस्थिति यस्तो बन्दै छ कि ओली समूहमा ठूलै पहिरो जाने सम्भावना छ । प्रेम आले, किसान श्रेष्ठ पनि यता आइसक्नुभएको छ ।

अब ओली विश्वासिला पात्र गुमाएर कमजोर अवस्थामा पुगे भने उनलाई हटाएर एमाले फेरि एकता गर्ने ठाउँमा पुग्छौँ । नभएमा नयाँ पार्टी गठन गरेर जाने कुरा हो,” उनले भने ।

भोली स्थायी कमिटीको बैठक बोलाएका छन् । नेता नेपालले आवश्यक परे केन्द्रीय कमिटी बैठक बोलाउने पनि जानकारी आफू निकट नेताहरूलाई गराएका छन् ।