यस्तो एजेण्डा सहित सरकार सञ्चालन सुझाव कार्यदलको बैठक बस्दै
१० साउन काठमाडौं। आज पनि शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार सञ्चालनका लागि सुझाव दिन गठित कार्यदलको बैठक बस्दैछ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजेका लागि बोलाइएको छ। नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वमा गठन भएको कार्यदलमा कांग्रेसबाट रमेश लेखक र मिनेन्द्र रिजाल, नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट राजेन्द्र श्रेष्ठ सदस्य छन्।
सरकार सञ्चालनका क्रममा सरकारका प्राथमिकताका क्षेत्रमा कार्यदलले सुझाव दिनेछ। न्यूनतम साझा कार्यक्रममा कोभिडलाई पहिलो प्राथमिकतामा राखिएको छ। कोभिडको सम्भावित तेस्रो लहरको रोकथाम तथा नियन्त्रणका लागि सरकारी तयारीका सन्दर्भमा सुझाव कार्यदलले दिने भएको छ। ठूला आयोजनाको काम ढिलो हुनुका कारण र आयोजना सम्पन्न गर्न सरकारको पहलकदमीका लागि आवश्यक सुझाव दिने बताइएको छ।