सेजनको ‘आर्थिक पत्रकारिता’ पुस्तक सार्वजनिक


Capital Headline
प्रकाशित मिति : बुधबार, साउन २० २०७८
10.3K
SHARES

२० साउन काठमाडौ । आज नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले ‘आर्थिक पत्रकारिता– हाते किताब’ सार्वजनिक गरेको छ । बुधबार  एक कार्यक्रमबीच अर्थमन्त्री जनार्दन शर्माले पुस्तकको विमोचन गरे । आर्थिक समाचार के हो ? र कसरी लेख्ने भन्नेबारेमा आर्थिक पत्रकारिता गर्न चाहने र गरिरहेका पत्रकारलाई उपयोगी हुने विश्वास गरिएको छ ।

पुस्तक सार्वजनिक गर्दै अर्थमन्त्री शर्माले अर्थतन्त्रको विषयमा चासो राख्ने सबैलाई पुस्तक उपयोगी हुने विश्वास व्यक्त गरे । उनले मुलुकको अर्थतन्त्रलाई सबल बनाउनका लागि सरोकार भएका सबै तह र तप्काको सार्थक सहयोग जरुरी रहेको बताए ।

उनले आर्थिक पत्रकारितामा संलग्न एवं नयाँ आउन चाहनेलाई पुस्तकले मार्ग दर्शन गर्ने भन्दै महत्वपूर्ण प्रकाशन गरेकामा सेजनलाई धन्यवाद दिए । कार्यक्रममा त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका विभागीय प्रमुख प्रा‍ चिरञ्जीवी खनालले पुस्तक पत्रकारिताका विद्यार्थी अध्येताका लागि सहयोगी र पाठ्य सामग्रीका रूपमा रहने विश्वास व्यक्त गरे ।

आर्थिक पत्रकारिताका अवधारणा र प्रयोगका साथै नेपालको अर्थ जगतका विधि आयाम समेटिएको पुस्तकले पत्रकारिता जगत्लाई बढी तथ्यपरकरुपमा प्रस्तुत हुन थप प्रेरणा दिने उहाँको भनाइ छ । पुस्तकका आर्थिक पत्रकारिताको परिचय, समष्टिगत अर्थतन्त्रः राष्ट्रिय आय, मौद्रिक नीति र उसका उपकरण, पूँजी बजारः काम कसरी ? नियमन कसरी ? लगायत अर्थतन्त्रका विभिन्न १४ क्षेत्र समेटिएको छ ।

यस्तै, आर्थिक पत्रकारिता गर्ने पत्रकारको आचारसंहिता, आर्थिक पत्रकारिताका अङ्कको प्रयोगलगायतका विषय समावेश गरिएको छ । सेजनले निकालेको हाते किताब संस्थागत रूपमा एक हजार रुपैयाँ र व्यक्तिगत रूपमा ५ सय रुपैयाँ तोकिएको छ ।