आज यी प्रदेशमा भारी वर्षाको सम्भावना


Capital Headline
प्रकाशित मिति : शुक्रबार, साउन २२ २०७८
5.1K
SHARES

२२ साउन काठमाडौं । मनसुनी वायुको प्रभाव रहँदा आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एकस्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

विभागले आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जानकारी दिएको छ । मौसमविद् मञ्जु बासीका अनुसार काठमाडौंमा आज बदली हुने भए पनि पानी पर्ने सम्भावना भने न्यून छ । उनका अनुसार काठमाडौंमा आज २८ देखि ३० डिग्री सेल्सियसको बीचमा तापक्रम रहने छ ।

भारी वर्षाको सम्भावना रहेका पहाडी  भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा  पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । तुलनात्मक रुपमा अहिले मनसुन केही कम सक्रिय छ । त्यसैले धेरै स्थानमा भारी वर्षाको सम्भावना कम छ । भारी वर्षाको सम्भावना कम भएकाले बाढी र पहिरोको सम्भावना पनि कम छ,” मौसमविद् मञ्जु भन्छिन्, “अबको दुईतीन दिन मनसुन थप सक्रिय हुने देखिँदैन । तर, पनि मनसुन सिजन रहेकाले हल्का तथा मध्यम वर्षा र बदली भने हुन्छ ।”