आज विद्युत् प्राधिकरणमा घिसिङले पदभार ग्रहण गर्दै
२७ साउन काठमाडौं। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुन: कुलमान घिसिङ नियुक्ति भएका छन्। ऊर्जा मन्त्रालयको प्रस्तावमा सोमबारको मन्त्रिपरिषद्ले घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।
हालका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा पठाएर घिसिङलाई नियुक्त गरिएको एक मन्त्रीले बताए। घिसिङको आजै पदभार ग्रहण हुँदैछ। ११ महिनाअघि कार्यकाल सकिएपछि घिसिङ बिदा भएका थिए। उनी भदौ ३१ मा चारवर्षे कार्यकाल पूरा गरेर बिदा भएका थिए।
यसअघि गत मंगलबार ऊर्जामन्त्री पम्फा भुसाललाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री शेरबहादुर देउवाले घिसिङलाई नियुक्त गर्ने प्रक्रिया सुरू गर्न निर्देशन दिएका थिए। अघिल्लो कार्यकालमा कुलमानले लोडसेडिङ हटाएका थिए भने लामोसमय घाटामा रहेको प्राधिकरणलाई नाफामा ल्याएका थिए।
उनको चारवर्षे कार्यकाल सकिएपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले उनलाई पुननियुक्ति गरेको थिएन। उनको ठाउँमा सुरूमा प्राधिकरणकै शाक्यलाई कायममुकायम कार्यकारी निर्देशक बनाइएको थियो भने पछि उनैलाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको थियो।